मदिरा सेवन र बिक्री गर्नेलाई ढुङ्गा बोकाइने   

डोटी,  यहाँका स्थानीय तहले मदिर सेवन तथा विक्री वितण समेत रोक्न आ–आफ्नै निर्णय गरेका छन् ।    
 केआइसिंह गाउँपालिकाको वडा नम्बर ७ सलेनाले मदिरा बिक्री वितरण तथा सेवन गर्नेलाई ढुङ्गा बोकाउने निर्णय गरेको छ । उक्त वडामा कसैले मदिरा सेवन गरे १५ दिन र बिक्री गर्नेलाई वडा कार्यालयसम्म एक महिना ढुङ्गा बोकाउने निर्णय गरिएको वडाध्यक्ष दिलबहादुर बलायरले जानकारी दिनुभयो । वडामा मदिरा बिक्री वितरण गर्दै आएका व्यापारी तथा वडावासीसँगको छलफलपश्चात् उक्त निर्णय गरिएको हो ।    
    
 यसैगरी उक्त वडामा सञ्चालन हुने गाडीमा मदिरा ओसारपसार गर्नेलाई समेत एक महिना गाडी ‘होल्ड’ राख्नुपर्ने निर्णयसमेत गरेको वडा कार्यालयले जनाएको छ ।    
यसैगरी जिल्लाकै आदर्श गाउँपालिकाले यही साउन १ गतेदेखि मदिरा बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष गणेश खड्काले मदिरा ओसारपसार गर्नेलाई रु ४० हजार जरिवाना तथा बिक्री वितरण गर्नेलाई रु ३० हजार जरिवाना गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।    
    
 यसैगरी मदिरा सेवन गर्नेलाई पहिलोपटक रु दुई हजार ५०० र दोस्रो पटक सेवन गर्नेलाई रु पाँच हजार जरिवाना तोक्ने निर्णय गरिएको छ । सायल गाउँपालिकाले पनि आफ्ना पालिकाभरिमा मदिरा बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा रोक लगाएको गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी जानकारी दिनुभयो ।    
    
 जिल्लामा नौवटा स्थानीय तह रहे पनि अन्य पालिकामा भने मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा कुन किसिमको कारबाही गर्ने भन्ने विषयमा छलफल भइरहेको जनाएको छ । कतिपय स्थानीय तहमा लाइसेन्स लिएर मदिरा बिक्री वितरण भइरहेकाले तिनीहरुलाई के गर्ने र कस्तो निर्णय गर्ने भन्ने विषयमा छलफल भइरहेको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी खड्काले जानकारी दिनुभयो ।    
    
सेतीमा पानीको बहाव उच्च सतर्क रहन आग्रह    
    
तीन दिनदेखिको लगातारको वर्षाका कारण जिल्लाको सेती नदीमा पानीको बहाव बढेको छ । बहाव बढेकाले नदी आसपासका बस्तीमा खतरा बढेको जनाउँदै सचेत रहन जिल्ला प्रशासन कार्यालयले यहाँका सबै नागरिकलाई आग्रह गरेको छ ।    
    
 जिल्लाको गोपघाट र दिपायलमा रहेको बाढीमापन केन्द्रका अनुसार जलसतह मापनभन्दा अधिक बढेको छ । सेती नदीमा गरिएको पानीको बहाव मापनअनुसार ५.४ क्युसेक पुगेको छ । यो ‘वार्निङ प्वाइन्ट’ भन्दा माथि हो । केन्द्रका अनुसार ३.५ क्युसेक बाढीको बहाव हुँदा नदीमा बाढीको बढी खतरा हुने गर्दछ । नदीले यहाँका धान रोपेका खेतमा कटान गरी बगाउन थालेको छ ।    
    
नदी आसपासका बस्ती बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, कैलडा तथा नारीदाङका स्थानीयवासीलाई विशेषगरी रातिको समयमा सचेत रहन प्रशासनले आग्रह गरेको छ । यसैगरी नदीमा पानीको बहाव बढ्न थालेसँगै इलाका प्रहरी कार्यालय दिपायल, प्रहरी चौकी तिल्तालीको टोलीले नागरिकलाई नदी क्षेत्रमा नजान तथा सचेत रहन माइकिङ गरिरहेको छ ।    
सेतीमा पानीको बहाव बढेकाले नदी आसपासका नागरिकलाई सुरक्षित रहन र नदीमा माछा मार्दै आएका नागरिकलाई केही दिन नदीमा नजानसमेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी कमला श्रेष्ठले बताउनुभयो ।    
    
लगातारको वर्षाका कारण बाढीपहिरो आउने खतरा बढेकाले प्रजिअ श्रेष्ठले विपद् व्यवस्थापनमा जुट्नका लागि जिल्लाका तीनवटै सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी)लाई ‘हाइअलर्ट’ मा बस्न निर्देशनसमेत दिनुभएका छ ।    
    
विपद् तथा नदीबाट हुने खतराबाट जोगिन प्रशासनले चौबिसै घण्टा सुरक्षाकर्मीलाई ती क्षेत्रमा अनुगमन गर्न निर्देशनसमेत दिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । जिल्लामा लगातार वर्षा भइरहे पनि अन्य साना नदीमा पानीको बहाव समान्य अवस्थामै रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । वर्षाकै कारण यहाँका विभिन्न ठाउँमा पहिरो गएको छ,भने एक दजर्नभन्दा बढी ग्रामीण सडक अवरुद्ध भएका छन् ।    
    
वर्षा सुरु भएसँगै पहिरा खस्दा जिल्लाका ग्रामीण भेगका अधिकांश सडक अहिले सवारीसाधन गुड्न नसक्ने अवस्थाका भएका छन् । उता जिल्लाको जोरायल तथा बडिकेदार गाउँपालिकाको बिपीनगरमा रहेको ठूलीगाडमा समेत पानीको सतह निकै बढेकाले सतर्क रहन त्यहाँका नागरिकलाई आग्रह गरिएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिनुभयो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *