जिल्ला ट्राफिकद्वारा ७० लाख राजस्व सङ्कलन
काठमाडौँ । जिल्ला ट्राफिक कार्यालय बागलुङले आर्थिक वर्ष २०७८/७९ मा ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गरी रु ७० लाख राजस्व सङ्कलन गरेको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार गत आवमा ११ हजार पाँच सय ५० सवारीसाधनका चालकलाई कारबाही गरिएको थियो । ट्रक, टिपर, बस, कार, जीप, ट्र्याक्टर र मोटरसाइकल नियमविपरीत सञ्चालनमा आएको पाइएकामा ट्राफिक प्रहरीले कारबाही गरेर उक्त राजस्व सङ्कलन गरेको ट्राफिक कार्यालय प्रमुख राजकुमार केसीले जानकारी दिएका छन् ।
प्रहरीले जथाभावी सवारीसाधन चलाउने, सवारीसाधनमा अनावश्यक स्टिकर टाँस्ने, सवारीसाधान सजावट गर्ने तथा मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउनेलाई कारबाही गरेको हो । कारबाहीका कारण विस्तारै सडक दुर्घटनामा कमी आएको केसीले बताए ।
आव २०७६/७७ मा आठ हजार आठ सय सवारीसाधनका चालकलाई कारबाही गरी रु ५२ लाख तथा आव २०७७/७८ मा १२ हजार एक सय सवारीसाधनका चालकलाई कारबाही गरी रु ६७ लाख ७३ हजार राजस्व सङ्कलन गरिएको थियो । “कारबाहीको सङ्ख्या र राजस्वमा वृद्धि भएको छ”, उनले भने । जिल्लामा गत आवमा सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो भने २१ जना गम्भीर घाइते भएको ट्राफिक कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।