माँ बंगलामुखी उपभोक्ता सहकारी १३ औं बार्षिक साधारणसभा सम्पन्न
उत्कृष्ट ब्यवस्थापन र ललितपुर जिल्लाको एक नम्बरको कोन्तीमा आफ्नै भवन रहेको माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लिमिटेडको १३औं बार्षिक साधारणसभा संस्थाले आफैले सञ्चालन गरिरहेको फुटसलमा सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनको अध्यक्षतामा सम्पन्न सो साधारणसभाको राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद गुरागाईँले उद्घघाटन गरेका थिए । त्यस अवसरमा उहाँले माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.को प्रतिवेदनमा उल्लेखित सबै सूचकाङ्क राम्रो देखिएको बताए । उनँले यस संस्थाको तरलता र वित्तीय अवस्था राम्रो रहेको , आफ्ना शेयर सदस्यहरुलाई यसले राम्रोसँग सेवा प्रवाह गरिरहेको र सामाजिक उत्तरदायित्व अन्तर्गत यसले बिभिन्न रचनात्मक सामाजिक क्रियाकलापहरु सञ्चालन गरिरहेकोले यस संस्थामा शेयर सदस्यहरुले निर्धक्क साथ कारोवार गर्न आग्रह गरे । राम्रोसँग सञ्चालन भइरहेका सहकारी संघ÷ संस्थाहरुको साथमा राष्ट्रिय सहकारी बैंक लि. रहेको उहाँको भनाई छ । त्यसैगरी ललितपुर महानगरपालिका वडा नं.११ का वडाध्यक्ष अरोजकुमार महर्जनले स्थानीय कला , संस्कृति र भाषाको विकास र प्रवद्र्धनका लागि कार्य गरिरहेको यस संस्थाको प्रवद्र्धनको लागि आफ्नो साथ र सहयोग रहने बताए ।
साधारणसभाको अध्यक्षता गर्दै संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनले त्यस संस्थाको सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै हाम्रो यस संस्थाकै सञ्चालक समितिको सक्रियता , शेयर सदस्यूहरुको साथ , सहयोग र माया तथा कर्मचारीहरुको मेहनत र परिश्रमका कारण १३ वर्ष अगाडि ६ लाख ५० हजार पूँजीबाट स्थापना भएको हाम्रो यो संस्थामा यतिबेला ३७ करोड ५० लाख भन्दा बढी वित्तीय कारोवार पुगेको र चालु आर्थिक वर्ष २०७९÷०८० को अन्तसम्ममा यस संस्थामा ५ करोड शेयर पूँजी र ५० करोड वित्तीय कारोवार पु–याउने लक्ष्य रहेको अध्यक्ष महर्जनले बताए । अध्यक्ष महर्जनले गत असार मसान्तसम्म हाम्रो यस संस्थाले आर्जन मुनाफाको आधारमा शेयर सदस्यहरुलाई कर नकटाई १४ प्रतिशत लाभांश प्रदान गर्न सफल भएको भन्दै प्रशन्नता व्यक्त गरे । यो वर्ष हाम्रो यो संस्थाले एसियाली सहकारी संघको कार्यक्रममा भाग लिन पाएको , यसका अध्यक्ष नेपाल उपभोक्ता केन्द्रीय सहकारी संघ लि.को लेखा सुपरीवेक्षण समितिको संयोजक र यसै संस्थाकी ऋण उप–समिति सदस्य सविना बज्राचार्य ललितपुर जिल्ला उपभोक्ता सहकारी संघ लि.को लेखा सुपरीवेक्षण समिति सदस्य पदमा चयन भएको भन्दै त्यस संस्थाको गतिविधि र कार्य प्रगतिबारे प्रकाश पारे । साधारणसभामा त्यसै संस्थाकी कोषाध्यक्ष अञ्जु तण्डुकारले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक सुवर्ण शाक्यले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरे । शेयर सदस्यहरु बीच ती प्रतिवेदन उपर छलफल समाप्त भएपछि साधारणसभाबाट ती प्रतिवेदनहरु पारित भएका थिए ।