मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा, उपाधि भिडन्त अर्जेन्टिनासँग
काठमाडौं । दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० ले हराउँदै साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । लगातार दोस्रोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको फ्रान्सले अब उपाधिका लागि अब आइतबार ८ः४५ अर्जेन्टिनाविरुद्ध खेल्नेछ । कतारको अल बायत रंगशालामा सम्पन्न खेलमा फ्रान्सलाई जित दिलाउन थियो हर्नान्डेज र कोलो मुआनीले गोल गरे ।
खेलको चौथो मिनेटमा नै फ्रान्सले अग्रता बनाएको थियो । फ्रान्सका लागि थियो हर्नान्डेजले गोल गरे । १८ यार्ड बक्सभित्रबाट किलियन एमबाप्पेले गरेको प्रहार मोरक्कोका रक्षक अक्रफ डारीबाट रिबाउन्ड आएको थियो । सोही बललाई हर्नान्डेजले जाली चुमाएका हुन् । पहिलो हाफमा १–० को अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा पनि एक गोल नै थप्यो । ७९ औँ मिनेटमा कोलो मुआनीले गोल गर्दै फ्रान्सको अग्रतालाई २–० मा पुर्याएका थिए । जितसँगै फ्रान्स विश्वकपको इतिहासमा लगातार दोस्रोपटक फाइनलमा प्रवेश गर्ने छैटौँ राष्ट्र बनेको छ ।
यसअघि विश्वकपको इतिहासमा हालसम्म ब्राजिल, इटाली, अर्जेन्टिना, नेदरल्यान्ड्स र जर्मनीले मात्र लगातार दुई पटक विश्वकपको फाइनल खेलेका थिए । यसमध्ये ब्राजिल र जर्मनीले लगातार तीनपटक विश्वकपको फाइनल खेलेका छन् । हालसम्म इटाली र ब्राजिलमात्र विश्वकपको इतिहासमा लगातार दुईपटक उपाधि जित्ने टिम हुन् । इटालीले सन् १९३४ र १९३८ को गरि लगातार दुई उपाधि जित्दा ब्राजिलले १९५८ र १९६२ को विश्वकपको उपाधि जितेको थियो । जारी विश्वकपको फाइनल खेल आइतबार लुसैल रंगशालामा हुनेछ । यसअघि अर्जेन्टिनाले मंगलबार साविक उपविजेता क्रोएसिलाई ३–० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । सेमिफाइनल प्रवेशका क्रममा फ्रान्सले इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दा मोरक्कोले अन्तिम आठको खेलमा पोर्चुगलको चुनौती पन्छाएको थियो । मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने अफ्रिका महादेशको पहिलो राष्ट्र हो ।