विश्वकप फाइनलका लागि भिड्दै अर्जेन्टिना र फ्रान्स, कति गोल हाने, कति गोल खाए ?

काठमाडौं । फिफा विश्वकप–२०२२ को फाइनल खेल आइतबार हुँदैछ । राति पौने ९ बजे कतारको अल दायनस्थित लुसैल स्टेडियममा सुरु हुने खेलमा अर्जेन्टिना र फ्रान्स प्रतिस्पर्धा गर्दैछन्।

क्रोएसियालाई हराएर अर्जेन्टिना र मोरक्कोलाई पराजित गर्दै फ्रान्स फाइनलमा पुगेको हो । पहिलो सेमिफाइनल खेलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराएको थियो। दोस्रो सेमिफाइनल खेलमा फ्रान्सले मोरक्कोलाई २–० ले पराजित गरेको थियो ।

समूह चरणको पहिलो खेलमा साउदी अरेबीयासँग अर्जेन्टिना २–१ पराजित भयो । त्यसबेला अर्जेन्टिना फाइनलमा पुग्नेमा धेरैलाई आशंका थियो । तर बाँकी खेलमा लोभलाग्दो प्रदर्शन गर्दै अर्जेन्टिना पाचौं पटक फाइनल खेल्दैछ । दक्षिण अमेरिकी च्याम्पियन टोली अब एक खेलमा जित निकाले ३६ वर्षपछि विश्व च्याम्पियन बन्ने पक्का छ ।

नेदरल्यान्डलाई पराजित गर्दै सन् १९७८ मा पहिलो विश्वकप उपाधि जितेको अर्जेन्टिनाले पछिल्लो पटक सन् १९८६ मा पश्चिम जर्मनीलाई हराउँदै दोस्रो उपाधि जितेको थियो । सन् १९९० मा विश्वकपको फाइनल पुगे पनि पश्चिम जर्मनीसँग पराजित भएपछि अर्जेन्टिना तेस्रो उपाधि भित्र्याउन भने असफल भयो ।

डिएगो म्याराडोनाको उत्कृष्ट प्रदर्शनमा दोस्रो पटक उपाधि जित्दा अर्जेन्टिनाले जम्मा १२ गोल गरेको थियो । त्यसको २४ वर्षपछि लियोनल मेस्सीको आडमा अर्जेन्टिनाले सन् २०१४ को ब्राजिल विश्वकपको फाइनलमा स्थान बनायो । यस संस्करण पनि तगारो जर्मनी नै बन्यो । अतिरिक्त समयमा मारियो गोट्जेले गोल गरेपछि अर्जेन्टिना स्तब्ध बन्यो । उपविजेतामा चित्त बुझाएर घर फर्कियो । तेस्रो उपाधिको सपना पूरा भएन ।

सन् २०१८ मा प्रि–क्वार्टरफाइनलमा फ्रान्ससँग ४–३ गोलले पराजित भएपछि अर्जेन्टिना विश्वकप यात्राबाट बाहिरिएको थियो । त्यसको चार वर्षपछि अर्जेन्टिना साविक विजेता फ्रान्ससँग पुरानो बदला लिदै विश्वकप जित्ने योजनामा छ ।

यस सस्करणको विश्कपकमा सुरुवाती खेलमा अर्जेन्टिनाले नतिजा आफ्नो पक्षमा पार्न सकेन । विश्वकप अघिका ३६ खेलमा अपराजित टिम समूह चरणको पहिलो खेलमा साउदी अरेबीयासँग २–१ ले स्तब्ध भएको थियो । तर अर्जेन्टिनाले कमजोरीलाई निरन्तरता दिएन । यस टिमले ६ खेलमा १२ गोल गरिसकेको छ भने पाँच गोल खाएको छ ।

समूह चरणमा मेक्सिको र पोल्यान्डविरुद्ध समान दुई–दुई गोलको जित हात पारेको अर्जेन्टिनाले प्रि–क्वार्टरफाइनलमा अस्ट्रेलियालाई २–१ ले पराजित गरेको थियो । क्वार्टरफाइनलमा नेदरल्यान्डमाथि टाइब्रेकरमा ४–३ को रोमान्चक जित निकाल्दै अर्जेन्टिनाले सेमिफाइनमा स्थान बनायो। सेमिफाइलमा साविकको उपविजेता क्रोएसिया ३–० ले पराजित भयो ।

फ्रान्स लगातार दोस्रो पटक विश्वकप च्याम्पियन बन्ने तयारीमा छ । अर्जेन्टिनालाई पराजित गर्न सके फ्रान्स ६० वर्षपछि लगातार विश्वकप उपाधि जित्ने पहिलो टोली बन्नेछ ।

ब्राजिलले सन् १९५८ र १९६२ मा लगातार दुई विश्वकप उपाधि जितेको थियो । १९६६ मा इङल्यान्डले जित्यो भने १९७० मा ब्राजिल तेस्रो पटक च्याम्पियन बन्यो । ६० वर्ष भयो कुनै पनि टिमले उपाधि रक्षा गर्न सकेका छैनन् । १९९८ मा पनि ब्राजिल लगातार दोस्रो पटक विश्व विजेता बन्ने लक्ष्यमा थियो ।

२००२ मा साबिक विजेता फ्रान्स समूह चरणबाटै बाहिरियो । फाइनलमा जर्मनीलाई हराएर ब्राजिलले कीर्तिमानी पाँचौँ पटक विश्वकप उपाधि जितेको थियो । ब्राजिल त्यसयता फाइनल पनि पुग्न सकेको छैन ।

२००६ मा फ्रान्सलाई उपाधि जित्ने मौका थियो । फाइनलमा इटालीसँग प्रतिस्पर्धा गरेको फ्रान्स पेनाल्टीमा ५(० ले स्तब्ध भयो । फाइनलमा इटालीका मार्को माटेराजीलाई फउल हानेपछि फ्रान्सका जिदान रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए। पहिलो पटक च्याम्पियन भएपछि फ्रान्सले पाँच विश्वकपमा दुई पटक फाइनलमा स्थान बनायो । २००६ मा चुकेको फ्रान्सले २०१८ मा क्रोएसियालाई ४-२ ले हराउँदै दोस्रो पटक उपाधि जित्यो ।

डिडिय डेस्सो फ्रान्सलाई ६० वर्षपछि ब्याक टु ब्याक विश्वकप जित्ने राष्ट्र बनाउने लक्ष्यसहित अर्जेन्टिनाविरुद्ध प्रतिस्पर्धा गराउँदै छन् । डिस्सो विश्वकप इतिहासमा लगातार दोस्रो पटक विश्वकप फाइनलमा सहभागी हुने चौथो प्रशिक्षक हुन् । यस्तै दोस्रो विश्व युद्धपछि कुनै पनि प्रशिक्षकले लगातार दुई संस्करणको उपाधि जितेका छैनन् । फ्रान्सले पहिलो पटक उपाधि हात पार्दा गोल्डेन जेनेरेसनको कप्तानी डेस्सोलेनै गरेका थिए । उनकै नेतृत्वमा सन् २००० मा फ्रान्स युरो च्याम्पियन पनि बन्यो ।

यो पटक समूह विजेताका रूपमा नक आउट पुगेको फ्रान्सले पोल्यान्ड, क्वार्टरफाइनलमा इङल्यान्ड र सेमीफाइनलमा मोरक्कोलाई हराएर फाइनलमा पुगेको हो । यो संस्करणको विश्वकपमा फ्रान्सले १३ गोल गर्दा पाँच गोल खाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *