क-कसलाई शपथ गराउने भन्ने जिम्मा प्रधानमन्त्रीलाई
काठमाडौं । नयाँ सत्ता गठबन्धनको बैठक सकिएको छ । मन्त्रिमण्डल र आगामी रणनीति तय गर्न संसद भवनमा बसेको सत्ता गठबन्धनको बैठक केहिबेर अघि सकिएको हो ।
बैठकले पहिलो चरणमा चुस्त मन्त्रिमण्डल गठन गर्ने सहमति गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पहिलो चरणमा केही मन्त्रीहरुले शपथ लिने र अन्तिम निर्णयको अधिकार प्रधानमन्त्रीलाई दिइएको बताए ।
बैठक सकिएपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै लामिछानेले भने,’हामीले आफ्ना कुरा राखेका छौं । क-कसलाई शपथ गराउने भन्ने निर्णय प्रधानमन्त्रीलाई सुम्पिएका छौं ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीसहित सात दलको समर्थनमा तेस्रो पटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रधानमन्त्री प्रचण्डले आज बेलुका ४ बजे शपथ लिने कार्यक्रम छ ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली,नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई,राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामछिने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा र जनमत पार्टीलगायत दलका शीर्ष नेताहरु सहभागी थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीमा प्रचण्डलाई समर्थन गर्ने र सरकारमा सहभागी हुने बताएको छ । यस्तै नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइ नभएसम्म सरकारमा नजाने तर समर्थन गर्ने निर्णय गरेको छ ।
प्रचण्डको शपथ ग्रहणसँग सानो आकारको मन्त्रिमण्डल गठन हुनेछ ।