नेपाल टी २० लिगमा स्पट फिक्सिङ भएको सीआईबीको प्रारम्भिक निष्कर्ष


काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको फ्रेन्चाइज क्रिकेट नेपाल टी २० लिगमा स्पट फिक्सिङ भएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले प्रारम्भिक निष्कर्ष निकालेको छ । ९ पुसदेखि सुरु भएको प्रतियोगिता सुरुवातदेखि नै बेटिङ र फिक्सिङको चर्चा सुरु भएको थियो । प्रतियोगितामा देखिएका अस्वभाविक नतिजा र केहि खेलाडीको अस्वभाविक प्रदर्शनबाट नै फिक्सिङका हल्लाहरु सुरु भएका थिए । गृहमन्त्री रवि लामिछानेले गत मंगलबार नेपाल टी–२० लिगमा भइरहेको भनिएको बेटिङ, सम्भावित फिक्सिङ र श्रम स्वीकृति विना विदेशी खेलाडी खेलाएकोबारे अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिएका थिए । प्रारम्भिक अनुसन्धान अनुसार तीनजना नेपाली र ४ जना विदेशी खेलाडीले स्पट फिक्सिङ गरेको पाइएको छ । बेटिङ र फिक्सिङमा नेपाल टी २० लिगको व्यापारिक तथा रणनीतिक साझेदारीसहित सन्चालन अधिकार पाएको विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको संग्लग्नता भएको संकेत मिलेको सीआईबी उच्चश्रोतले जनाएको छ । बेटिङ र फिक्सिङको चर्चा धेरै हुन थालेपछि सन्चालन अधिकार पाएको सेभेन थ्रीका मालिक जतिन अहुवालिया गत सोमबार नै भारत पुगेका थिए । उनी भागेको भन्दै नेपाल क्रिकेट संघ क्यानले सम्झौता खारेजीको प्रक्रिया सुरु गर्ने बताएको थियो । सीआईबीले शंकामा रहेका खेलाडीहरुसँग बयान लिइसकेको छ । प्रतियोगिताका सुरुका केहि खेलहरुमा फिक्सिङ भएको पाइए पनि धेरै हल्ला हुन थालेपछि पछिल्ला खेलहरुमा फिक्सिङ नभएको श्रोतले जनायो । एउटा खेलाडीले एउटा खेलमा स्पट फिक्सिङ गरेबापत १० लाखभन्दा कम लिने गरेको अनुसन्धानमा पाइएको श्रोतले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *