सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न देउवा र सभामुख घिमिरे अस्पतालमा


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् । बिहीबार बिहान अस्पताल पुगेका देउवाले आगोले जलेर घाइते भएका सांसद चन्द्र भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनले सांसद भण्डारीको स्वास्थ्य अवस्थाबारे अस्पतालका प्रमुख डा. किरण भण्डारीसँग जानकारी लिँदै उपचारमा कमी हुन नदिन र संवेदनशील हुन पनि ध्यानाकर्षण गराएका छन् ।
सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट घाइते भएका हुन् । उनीहरूको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । शरीरको २५ प्रतिशत भाग जले पनि सांसद भण्डारीको फोक्सोमा समेत असर परेकाले थप उपचारका लागि भारत लैजान चिकित्सकले सिफारिस गरेका छन् । गएराति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर विस्फोट हुँदा भण्डारी आमा–छोरा जलेर घाइते भएका थिए । उनीहरुलाई राति नै कीर्तिपुर अस्पतालमा लगिएको थियो । उनीहरुको आईसीयूमा राखेर उपचार भइरहेको छ । साथै नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ । कीर्तिपुरको बर्न अस्पतालमा उपचाररत भण्डारी र उनकी आमालाई चिकित्सकहरुले यहाँ उपचार सम्भव नभएको भन्दै विदेशको कुनै सुविधासम्पन्न अस्पतालमा लैजान सिफारिस गरेका थिए । चिकित्सकहरुको सिफारिस अनुसार सांसद भण्डारीलाई भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको उनको सचिवालयले जनाएको छ । उनकी आमाको भने कीर्तिपुरमै उपचार हुने छ । आमालाई आईसीयुबाट बाहिर निकाल्ने अवस्था नभएकाले उनलाई भारत नलैजाने स्रोतले बतायो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *