सांसद भण्डारीलाई मुम्बई लैजाने क्रममा ६ जना स्वास्थ्यकर्मी सहित ११ जनाको टोली जाने

काठमाडौं । गएराति ग्याँस विस्फोटका कारण जलेर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजान कीर्तिपुर अस्पतालबाट विमानस्थल लैजाने तयारी भएको छ ।

कीर्तिपुर अस्पतालबाट विमानस्थलसम्म एम्बुलेन्समा लैजाने र त्यहाँबाट श्री एयरलाइन्सको विमानमार्फत मुम्बईको सुविधासम्पन्न नेशनल बर्नस् सेन्टरमा लैजाने तयारी गरिउको सवास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास नलीमा जलनले असर परेकाले सुन्निन सक्ने जोखिम भएको हुँदा स्वास नलीमा पाइप राखी (इन्टुबेसन गरी) अक्सिजन दिँदै लगिने चिकित्सकले जानकारी दिए ।

अस्पतालका चिकित्सकले भण्डारीको अवस्था गम्भीर रहेका बताएका छन् । श्वासप्रश्वासको नली सुन्निन थालेको कारण जटिलता थपिँदे गएको उनीहरुको भनाइ छ ।
नर्भिक अस्पतालले एयर एम्बुलेन्सको रुपमा लगिने सो फ्लाइटको व्यवस्थापन गर्ने भएको छ । नर्भिकबाट ६ जना चिकित्सकको टीम फ्लाइटमा हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भण्डारीको उपचारका लागि सवास्थ्यकर्मीको टिमसहित ११ जनाको टोली भारत उनको उपचारका क्रममा जाने भएका छन् ।

६ जना चिकित्सकीय टोलीमा ३ जना डाक्टर र ३ जना पारामेडिक्स छन् । क्रिटिकल केयर प्रमुख डा.प्रदिप तिवारी, एनेस्थेसिया क्रिटिकल केयर डा.वृहस्पति र फ्लाइट डाक्टर डा.रोशन शर्मा रहेका छन् । तीन जना पारामेडिक्समा ईआरमा दिनेश राई, सागर महर्जन र राज तामाङ रहेका छन् ।

गएराति बुद्धनगरस्थित घरमा आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए । भण्डारीकी आमा हरिकलाको आज बिहान उपचारकै क्रममा निधन भएको छ ।

चिकित्सकका अनुसार भण्डारीको शरीरको ३० प्रतिशत भाग जलेको छ । दुवै हात, दुवै गोडा र अनुहार जलेको छ । हालको स्रोत र साधनको अवस्थामा यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा पठाउनु परेको कीर्तिपुर अस्पताल जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *