राजावादीहरु उफ्रिँदैमा इतिहास लेख्न बलिदान गरेका सपूतहरुको योगदान भुल्न सकिँदैन : प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू राष्ट्रिय अन्तर्राष्ट्रिय घेराबन्दीविरुद्ध लडिरहेको बताएका छन् ।शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेसनले आज (आइतबार) राजधानीमा गरेको कार्यक्रमलाई सम्बेधन गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले आफू राष्ट्रिय अन्तर्राष्ट्रिय घेराबन्दीविरुद्ध लडिरहेको र पूर्व माओवादी एकठाउँमा आउनुपर्ने उनले बताए । उनले भने, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय दबाव र घेराबन्दीविरुद्ध लडिरहेको छु । घेराबन्दीका विरुद्ध लडिरहेका सबै शक्तिहरु एकठाउँमा उभिएर लड्यौं भने आन्दोलन अमर र विजयी हुनसक्छ ।’
उनले माओवादी आन्दोलनका सबै नेताहरु एकै ठाउँमा आउनुपर्ने समय आएको बताए । उनले भने, ‘बाबुरामजी विप्लवजी, किरणजीले हासिल गरेका अनुभवहरु, धमेन्द्र जीले अहिले अनुभव हासिल गर्दै हुनुहुन्छ । यी सबै अनुभवलाई हाम्रा अनुभव भनौं ।’
प्रधानमन्त्री प्रचण्डले केही समययता भइरहेको राजावादीहरुको प्रदर्शनले जनयुद्धका उपलब्धीहरु नगुम्ने पनि बताए । उनले भने, ‘जनयुद्धका सहित, बेपत्ता र घाइतेका लागि सम्मान पनि हो, जनयुद्धका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गर्ने निर्णय भइसकेको छ ।’
आफूले जनयुद्धमा योगदान दिनेहरुलाई सम्मान गरिररहँदा भूतप्रेतहरु सडकमा निस्किन थालेको भन्दै राजावादीहरुमाथि कटाक्ष गरे । उनले भने, ‘भूतप्रेतहरु बाटामा निस्किँदै केही फरक पर्दैन । उनहरु उफ्रिँदैमा इतिहास लेख्न बलिदान गरेका सपूतहरुको योगदान भुल्न सकिँदैन ।’