मुस्ताङमा चीनलक्षित विश्वविद्यालय बन्न लागेको भन्ने ओलीको अभिव्यक्ति भ्रमपूर्ण
काठमाडौं । सरकारले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा विश्वविद्यालय स्थापना गर्नेबारे कुनै निर्णय नगरेको स्पष्ट पारेको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुस्ताङमा अमूक देशको प्रस्तावमा कुनै चीनलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न लागेको भनी दिएको अभिव्यक्तिको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले खण्डन गरेको हो । सञ्चारमन्त्री रेखा शर्माले विज्ञप्ति जारी गर्दै ओलीको भनाइ भ्रमपूर्ण रहेको बताएकी छन् । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सरकारले कुनै अमूक देशको प्रस्तावमा कुनै अर्को देशलाई लक्षित गरी विश्वविद्यालय स्थापना गर्न थालेको भन्ने अभिव्यक्ति पूर्णतः भ्रमपूर्ण रहेको छ । नेपाल सरकारले यससम्बन्धी कुनै निर्णय नगरेको स्पष्ट गर्न चाहन्छौँ ।
विज्ञप्तिमा पूर्वप्रधानमन्त्री ओलीले भ्रमपूर्ण अभिव्यक्ति दिएर परराष्ट्रनीतिमाथि आँच आउने कार्य गरेको उल्लेख छ । मन्त्रालयले यसबारे अध्ययन गर्ने पनि जनाएको छ । यस सम्बन्धमा मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले कलेज स्थापनाका लागि सहयोग गर्न अनुरोध गर्दै भारतीय दूतावासमा पत्र लेखेको भन्ने समाचार सार्वजनिक भएकाले यस सम्बन्धमा के भएको हो सोको अध्ययन र आवश्यक छानविन गरी सत्य तथ्य सार्वजनिक गर्ने व्यहोरा जानकारी गराउन चाहन्छौँ । साथै मन्त्री शर्माले मुलुकको सार्वभौमिकता, अखण्डता, राष्ट्रिय हित एवं स्वतन्त्र र सन्तुलित कूटनीतिका पक्षमा नेपाल सरकार दृढतापूर्वक उभिएको बताएकी छन् ।