आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले मर्जरको लागि धितोपत्रबाट पायो स्वीकृति
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स मर्जरको लागि नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई पुर्व स्वीकृति दिएको हो । बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपासमा मर्जर हुने सम्बन्धमा निर्देशिका, २०७९ को दफा ८ को उपदफ ४ बमोजिम अन्तिम स्वीकृति दिएको हो । दुई कम्पनीबीच सेयर अनुपात क्रमशः १ः१ कायम रहने गरी माघ २९ गते मर्जर सम्बन्धी सम्झौता भएको थियो । सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात् बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने बताइएको छ । हाल आईएमई जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ८० करोड रुपैयाँ र प्रुडेन्सियल इन्स्योरेन्सको एक अर्ब १८ करोड रुपैयाँ छ । जसमा आईएमई जनरलले ६ प्रतिशत बोनस वितरण गरिसकेको छ भने प्रुडेन्सियलले ६.५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । घोषित बोनसपश्चात् प्रुडेन्सियलको चुक्ता पुँजी १ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । यससँगै मर्जपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५ करोड रुपैयाँ नाघ्ने छ ।