नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले लिए शपथ
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित विशेष समारोहमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पौडेलले राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ लिएका हुन् । गत बिहीबार राष्ट्रपतिमा निर्वाचित पौडेलले सोमबार शपथ लिएका हुन् ।
शपथ ग्रहणपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी राष्ट्रपति रामचन्द्र पौडेललाई हस्तान्तरण गरेकी छन् ।
शपथ ग्रहण समारोहमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वराष्ट्रपति डा रामवरण यादव,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित मन्त्रिपरिषद् सदस्य, संघीय संसदका सदस्यसहित विशिष्ट व्यक्ति,संवैधानिक अंगका प्रमुख कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थिति थियो । प्रधानमन्त्री प्रचण्डले निवर्तमान राष्ट्रपति भण्डारीलाई सरकारका तर्फबाट उपहार प्रदान गरेका छन् ।
उनी आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई दोब्बर मतले पराजित गरी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । चुनावमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५ हजार पाँच सय १८ मतभार प्राप्त गरेका थिए ।
नेपालको संविधानमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ । संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ । नेपालमा विसं २०६२–६३ को जनआन्दोलनको उपलब्धिका रुपमा गणतन्त्र स्थापना भएसँगै राष्ट्रपतीय प्रणालीको अभ्यास सुरु भएको हो । राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई कार्यकाल राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नमिल्ने संविधानमा उल्लेख छ ।