कलाकार सङ्घको अध्यक्षमा निरौला


काठमाडौं । कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् । १९औँ साधारणसभामा उनी कुल खसेको ४६८ मतमा २३५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी अभिनेत्री रेजिना उप्रेतीले २०९ मत प्राप्त गरिन् । सङ्घ स्थापना हुँदा नै सदस्यमा रहेका निरौला त्यसपछि कार्यसमितिमा ४ कार्यकाल महासचिव र ३ कार्यकाल उपाध्यक्ष रहिसकेका छन् । ‘संस्थापक सदस्य भएकाले मेरो लगाव र दायित्व सङ्घप्रति बढ्दो छ, आगामी दिनमा कलाकारले आफ्नो महसुस गर्ने गरी काम गर्नेछु, मैले घोषणा गरेका अधिकांश काम गर्नेछु, कलाकारलाई पेसागत सुरक्षाका लागि बढी काम गर्नेछु, अध्यक्ष निरौलाले भन्ने । उपाध्यक्षमा कविता गेलालले १५१ मत र शिवहरि नेपाल ‘वैरागी’ ले १४० मत तथा महासचिवमा सविन श्रेष्ठले ११२ मत प्राप्त गरेर विजयी भए । यस्तै सचिवमा रामेश्वर बुर्लाकोटीले २२३ मत र कोषाध्यक्षमा सुनिल कटुवालले २६० मत प्राप्त गर्दै विजयी हुँदा सहकोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भइन् । सदस्यमा शीतल केसी सर्वाधिक ३०२ मत ल्याएर विजयी भए । अन्य सदस्यमा गोपाल ढकाल ‘छन्दे’ २८७, उद्धवप्रसाद भट्टराई २११, पवन केसी २०२, नम्रता खरेल १८७, पुकार भट्टराई १८२, खुश्बु खड्का १७७, सरिता राधोपाध्याय १४६, रोशन श्रेष्ठ १३५ र समीर लामा १३३ मत प्राप्त गरेर विजयी भएका हुन् । झन्डै ७ सय सदस्य रहेको सङ्घको निर्वाचनमा ४६८ मत मात्र खसेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *