उपत्यकाका ठूला क्याम्पसमा नेविसंघको वर्चश्व
काठमाडौं । १४ वर्षपछि भएको स्वतन्त्र विद्यार्थी युनियनको मतपरिणाम आउने क्रम जारी छ । आइतबार देशभरका क्याम्पसमा एक साथ निर्वाचन भएको थियो । हालसम्म डेढ सयभन्दा बढी क्याम्पसको मत परिणाम सार्वजनिक भइसकेको छ । जसअनुसार पहिलोमा एमाले अखिल र दोस्रो नेपाल विद्यार्थी संघ छ ।
उपत्यका बाहिरका स–साना क्याम्पसमा अखिल र अनेरास्ववियु क्रान्तिकारीले जित हासिल गरे पनि ठूल्ठूला र हजारौं विद्यार्थी भएको क्याम्पसमा नेविसंघले बाजी मारेको छ । उपत्यकाका ठूला क्याम्पसमा भने नेविसंघकै वर्चश्व देखिएको छ ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेविसंघका उम्मेदवार श्यामराज ओझा विजयी भएका छन् । अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टलाई पराजित गरी ओझा सभापतिमा विजयी भएका हुन् । उनले ८९४ मत ल्याएर निर्वाचित हुँदा अनेरास्ववियुका प्रकाश विष्टले ६८१ मत पाएका छन् । सचिवमा अनेरास्ववियुका सिद्धान्त भट्ट निर्वाचित भएका छन् । कोषाध्यषमा नेविसंघकै पदमा भुसाल विजयी भएकी छन् ।
शंकरदेव क्याम्पस स्ववियु सभापतिमा नेविसंघका सुशान्त बस्नेत निर्वाचित भएका छन्। नेविसंघ र एकीकृत समाजावदीनिकट अनेरास्ववियूबीच शंकरदेवमा तालमेल भएको थियो। क्याम्पसमा ८ हजार ८ सय ८८ मतदाता थिए। आइतबार भएको स्ववियु चुनावमा यहाँ ३१०३ मत खसेको थियो।
पद्मकन्या क्याम्पस स्ववियु सभापतिमा नेविसंघकी उम्मेदवार ज्योति पनेरू निर्वाचित भएकी छन्। उनले अखिल क्रान्तिकारीकी उम्मेदवार त्रिसना आलेलाई पराजित गरेकी छन्। सचिवमा भूपी ऐर र कोषाध्यक्षमा श्रेया मैनाली निर्वाचित भएका छन्।
काठमाडौँको थापाथली इन्जिनियरिङ क्याम्पसमा नेविसंघ विजयी भएको छ । आइतबार भएको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा ९नेविसंघ०का पुष्कर शाही विजयी भएका हुन् ।
काठमाडौंको धोवीचौरस्थित पब्लिक युथ क्याम्पस स्ववियु सभापति नेविसंघले जितेको छ। नेविसंघका उम्मेदवार नवीन पाण्डे स्ववियु सभापतिमा निर्वाचित भएका हुन् । उनले ८१६ मत ल्याएका छन्। सचिवमा अनेरास्ववियुका निराजनकुमार शाही ७०६ मतसहित निर्वाचित भए ।
उपत्यकाको पाटन, नेपाल कमर्स क्याम्पस, त्रिचन्द्र क्याम्पस, आरआर क्याम्पसमा भने निर्वाचन प्रक्रिया स्थगित भएको छ । यी क्याम्पसमा पनि नेविसंघ नै बलियो मानिन्छ । नेविसंघले सभापति नपाएकाले पुल्चोक इन्जिनियरिङ क्याम्पस एमाले अखिलले जितेको छ ।