सीताराम कट्टेल धुर्मुस भन्छन्– गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अलपत्र परेपछि डिप्रेसनमा गएँ (भिडियो)
काठमाडौं । कलाकार सीताराम कट्टेलले भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अलपत्र परेपछि आफू डिप्रेसनमा गएको बताएका छन् ।उनले आफूले ठूलो प्रयत्न गर्दा पनि भनेको समयमा रंगशाला बनाउन नसकेको भन्दै रंगशालामा दुबो मौलाए पनि आफूमा जोश नओइलाएको उल्लेख गरेका छन् ।
मंगलबार दिउँसो उनले रंगशालामै खिचेको ३० मिनेटको भिडियो सामाजिक सञ्जालमा राखेका छन् । उनले भनेका छन्, ‘सुरुमै अनुुरोध गर्न चाहन्छु यो भिडियो चाँडो सबैमा पु¥याइदिनु होला, ताकि रंगशालाको वास्तविक कुरा सबैमाझ पुगोस् ।’ उनले के कारणले रंगशाला अलपत्र परेको हो त्यसबारे सविस्तार बताएका छन् ।
यसो भन्छन् कलाकार कट्टेलः
म यो घडीमा स्मरण गर्न चाहन्छु स्वदेश तथा विदेशबाट यो रंगशाला बन्नुपर्छ, बनाउनुपर्छ भनेर हामीलाई सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरूलाई । यहाँहरूकै सहयोगले यो रंगशाला यहाँसम्म आइपुगेको हो । म सम्झना चाहन्छु चितवनस्थित सम्पूर्ण राजनीतिक दलहरू, विभिन्न संघसंस्थाहरू, उद्यमी व्यवसायीहरू, भरतुर महानगरपालिका यहाँहरू सबैको सहयोगले यो रंगशाला यहाँसम्म आइपुगेको हो । म भन्न चाहन्छु, यहाँहरूले गरेको सहयोग कहीँकतै पनि खेर गएको छैन । जस्ताको तस्तै हामीले यहीँ खर्चेका हौँ । यहाँहरूले यहाँ आएर हेरेर यहाँका बारेमा सम्पूर्ण कुरा बुझिसक्नु भएको छ । यो परियोजनमा हामी निमित्त मात्र हौँ, सहयोगी मात्र हौँ । हामी स्वयंसेवी मात्र हौं । यो एउटा राज्यको सम्पत्ति बनिरहेकोमा हामीले केवल व्यक्तिगत सम्पत्ति बनाइरहेका छैनौँ ।
म अहिले सम्झन चाहन्छु, शुभकामना दिन चाहन्छु, बधाई दिन चाहन्छृु । नेपाली खेलाडीहरूले जसले नेपालको नाम उच्च बनाउने काम गर्नुभएको छ । खेलाडीहरू, खेलप्रेमी साथीहरू, सम्पूर्ण महानुभावहरूलाई म बधाई दिन चाहन्छु । म आज दुई वर्षदेखि यो रंगशाला किन अलपत्र अवस्थामा रहेको छ ? किन यसले निकास पाएन त ? यसवारेमा वास्तविक कुरा भन्न आएको छु ।
म आज अलि आक्रोशित हुन सकौँला, उत्तेजित पनि हुन सकौँला, मेरो स्वभाव यस्तो होइन । म बाध्य भए के गरौँ ? विगत डेढ वर्षबाट म मानसिक यातना भोगिरहेको छु । डिप्रेसिनमा छु, त्यसैले म सुरुमै माफी चाहन्छु । मैले बोलिएका शब्दहरूले काहीँ कतै ठेस पुग्छ भने म सुरुमै माफी चाहन्छु । आज क्रिकेटले सफलता हासिल गरेको छ । जुन उचाइमा पुगेको छ, एकचोटि महसुस गरौँ त ? यो रंगशाला महत्वूर्ण रहेछ या छैन ?
एउटा स्तरीय रंगशालाको अभावमा पनि नेपालीले क्रिकेटमा विजय हासिल गर्न सफल भए ।
हामीले एउटा स्तरीय रंगशाला बनाउनु के अपराध थियो ? के हामीले पाप गरेका थियौँ ? त्यही हिजो अस्तिको टिउ ग्राउन्ड एकपटक स्मरण गरौँ त ? भुइँमा बसीबसी हजारौँ दर्शकहरूले खेलको मजा लिइरहँदा, रुखका हाँगामा झिन्डिएर, बसेर खेल हेरिरहँदा, आज सोही प्रतियोगिता दुई अगाडि यस रंगशालाले निकास पाएको भए यही हुन्थ्यो होला ! रुखमा बसेर, झुन्डिएर ज्यानको जोखिम मोलेर, भुइँमा बसीबसी क्रिकेट खेल हेर्नुपर्ने अवस्था आउँदैन थियो होला !
यहीँ आफूले सहयोग गरेको रंगशाला, आफ्नो पौरखले निर्माण गरेको रंगशालाका प्यरापिटमा बसेर खेलको मजा लिएर मात्र होइन, विदेशी खेलाडीलाई पराजित गरेर मजा लिने दिन आउँथ्यो होला । मैले त्यही सपना देखेको थिएँ । धुमुर्स सुन्तलीको मात्र सपना होइन यो । यो त सिंगो राष्ट्रको सपना हो । आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचारमाध्यममा रुखमा झुन्डिएर, भुइँमा बसेर क्रिकेट हेरेको समाचार आउँदा हामीलाई मजा आएको होला रु पक्कै पनि कसैलाई पनि आनन्द मिलिरहेको छैन होला ।