नयाँ बानेश्वरमै लाग्यो ‘आतंककारी प्रचण्ड मुर्दावाद’ को नारा
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नयाँबानेश्वरमा नाराबाजी भएको छ । मंगलबार उनीविरुद्ध नाराबाजी गर्ने तीनजना पक्राउ परेका छन् । ५८औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीनजना युवाले प्रचण्डविरुद्ध नाराबाजी गरेका हुन् ।
कार्यक्रममा एक युवाले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रहरीलाई आग्रह गरेका थिए । तर, प्रहरीले ती युवालाई तत्काल समाउन खोज्दा उनले ‘आतंककारी प्रचण्ड मुर्दावाद’ भन्दै नाराबाजी गरेका थिए । त्यसबीचमा अर्का एकजना युवाले प्रहरीले मुख बन्द गर्न पाइँदैन भन्दै नारा लगाएपछि प्रहरीले तत्काल उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले समाउने बेला ती युवक कराउँदै थिए, ‘बैंकको ब्याज मिनाहा गर, बैंकको ब्याज कम गर । बैंकको ब्याजदरले जनता मरिसक्यो । हे सरकार बैंकको ब्याजदर न्यून गर ।
जनता मरिसक्यो । जनता मार्न पाइँदैन । आतंककारी प्रचण्ड मुर्दावाद, प्रहरी दमन मुर्दावाद, मूल्यवृद्धि खारेज गर । प्रचण्ड सरकार मुर्दावाद । युवालाई मार्न पाइँदैन । यस्तो सरकार चाहिँदैन । मान्छे मार्न पाइँदैन । प्रचण्डका प्रहरी,सुरक्षाकर्मी मुर्दावाद । बोल्ने अधिकार बन्द गरियो, प्रहरी दमन मुर्दावाद ।’ प्रहरीले पक्राउ परेका युवकबारे कुनै जानकारी गराएको छैन ।