लुम्बिनी : माओवादीले आज समर्थन फिर्ता लिदैँ,को बन्ला मुख्यमन्त्री ?

काठमाडौं । केन्द्रमा फेरिएको समीकरणअनुसार माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।

माओवादीले लुम्बिनीका मुख्यमन्त्री लीला गिरीलाई दिएको समर्थन फिर्ता लिने भएको हो ।समर्थन फिर्ता लिने निर्णय गर्न आज माओवादीले बिहीबार दिउँसो संसदीय दलको बैठक बोलाएको छ । दलको बैठकबाट एमाले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिने माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले बताएका छन् ।

पुस २८ गत माओवादीसहित लोसपा, नागरिक उन्मुक्ति, राप्रपा, लोसपा, जसपाको समर्थनमा एमाले संसदीय दलका नेता गिरी मुख्यमन्त्री बनेका थिए । तर केन्द सरकारमा एमाले र राप्रपा बाहिरिएपछि एमालेलाई समस्या परेको हो । तर माओवादीका ११ सांसदमध्ये चारजना अहिलेकै सरकार निरन्तरता दिनुपर्ने पक्षमा छन् ।

लुम्बिनी प्रदेशमा पनि सरकारको नेतृत्व लिन कांग्रेस र माओवादीबीच हानथाप चलिरहेको छ । एमाले नेतृत्वको सरकारमा अहिले मन्त्री रहेका माओवादी संसदीय दलका नेता जोखबहादुर महरा र कांग्रेस संसदीय दल नेता डिल्लीबहादुर चौधरी मुख्यमन्त्री आफ्नो भागमा पार्न तीव्र ‘लबिइङ’ मा छन् । कांग्रेस संसदीय दलका नेता चौधरीले अघिल्लो कार्यकालमै कांग्रेस र माओवादीबीच सरकारको नेतृत्व आधा–आधा कार्यकाल गर्ने सहमति भए पनि कार्यान्वयन नभएकाले यसपटक सरकारको नेतृत्व कांग्रेसले पाउनुपर्ने बताए ।

०७८ साउन २८ गते मुख्यमन्त्री नियुक्त भएका माओवादीका कुलप्रसाद केसीले आठ महिनापछि सरकारको नेतृत्व कांग्रेसलाई हस्तान्तरण गर्ने सहमति भएको थियो । तर बाँकी कार्यकाल पनि केसी नै मुख्यमन्त्री रहे । माओवादी संसदीय दल नेता महराले पनि मुख्यमन्त्री बन्ने प्रयास गरिरहेका छन् । माओवादीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले कांग्रेसको बलियो दाबेदारी रहेको अवस्थामा सरकारको नेतृत्व प्राप्त गर्ने गरी पहल भइरहेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *