गौतम बुद्ध क्रिकेट रंगशाला नबन्दाको साइड इफेक्ट, फेसबुकमा कुञ्जनालाई कसले पठायो नग्न तस्बिर ?
काठमाडौं । भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अलपत्र परेपछि यसबारे व्यापक टीकाटिप्पणी भएको छ । दुई वर्षअघि रंगशाला निर्माणका अभियन्ता धुर्मुस सुन्तली फाउन्डेसनले हात झिकेपछि अलपत्र बनेको छ । अब रंगशाला कसले बनाउने भन्ने चासो र चिन्ता छ ।
केही दिनअघि सीताराम कट्टेल धुर्मुसले ३० मिनेट लामो भिडियो बकपत्र जारी गरेपछि पुनः रंगशाला चर्चामा आएको थियो । जसमा उनले आफू डेढ वर्षदेखि मानसिक तनावमा परेको बताएका थिए । शुक्रबार मात्रै कलाकार कुञ्जना घिमिरे सुन्तलीले सामाजिक सञ्जालमार्फत आफूलाई मानसिक यातना दिन थालिएको बताएकी छन् ।
फेसबुकमा एक पोस्ट गर्दै उनले आफूलाई गालीगलौज गरिएको र इन्बक्समा नग्न तस्वीरहरू पठाइएको उल्लेख गरेकी छन् ।
भरतपुरमा निर्माणाधीन क्रिकेट रंगशालालाई लिएर उठेको विवादमा आफूलाई मानसिक यातना दिइएको र अब सहन नसकिने उनले लेखेकी छन् । ‘अबको हरेक वार्ता खुलेआम रंगशालाको मैदानमा गरियोस् न कि बन्द कोठामा ।
मलाई मेरो इन्बक्समा नग्न तस्वीरहरु पठाउन सुरुवात भएको छ,’ उनले लेखेकी छन्, ‘विभिन्न तुच्छ गालीको वर्षात् भइरहेको छ । म पनि मान्छे हुँ, धेरै मन दुःखेको छ राज्य र राष्ट्रसँग ।’ आफ्नो श्रीमान् सीतारामले केही समय धैर्य गर भनेर सान्त्वना दिए पनि यतिका समय सुन्नै नसकिने शब्दहरूका गालीगलौज सहँदै आउँदा अब आफू मानसिक यातनाले विक्षिप्त भएको कुञ्जनाले फेसबुकमा उल्लेख गरेकी छन् ।