गोविन्दराज जोशीलाई कांग्रेस राजनीतिमा फर्कने अवसर

काठमाडौं । नेपाली कांगेसले तनहुँका गोविन्दराज जोशीमाथिको कारबाही फुकुवा गरेसँगै उनलाई कांग्रेसको राजनीतिमा फर्किने अवसर प्राप्त भएको छ । किनभने उनी कांग्रेसका पूर्वसहमहामन्त्री भइसकेका छन् । कुनै समय कांग्रेसको राजनीतिमा जोशीको एकछत्र राज थियो । कोइराला परिवारको निकटमा रहेकाले पनि जोशीले जे चाहन्थे त्यही हुन्थ्यो । त्यही भएर पनि जोशी हालका राष्ट्रपति रामचन्द्र पौडेलभन्दा आफू नै सिनियर भएको दाबी गर्थे । जोशी र पौडेल दुवै कोइराला परिवारसँग निकट भएकाले दुईबीच प्रतिस्पर्धा चलेको थियो । जोशीका प्रतिस्पर्धी नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भइसकेकाले पनि अब उनले तनहुँमा कांग्रेसलाई घाटा हुने राजनीति गर्ने छैनन् भन्नेमा धेरै आशावादी देखिएका छन् ।

तनहुँ २ मा अघिल्ला दुई निर्वाचनमा कांग्रेसकै आधिकारिक उम्मेदवारविरुद्ध बागी दिएका जोशीलाई पार्टीले अनुशासनको कारबाही गरेपछि उनको पूर्वपदाधिकारीको वरीयता खोसिएको थियो । तर आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उनको कारबाही फुकुवा गरेको छ । कांग्रेसले कारबाही फुकुवा गरे पनि जोशीले अस्वीकार गरेका छन् । उनले आफू कांग्रेस नै नभएको भन्दै अस्वीकार गरेका हुन् । यद्यपि जोशीले तनहुँ २ मा आफ्नो समूहले उपनिर्वाचनमा उम्मेदवार नउठाउने र तठस्थ बस्ने निर्णय गरेका छन् । तनहुँ २ मा कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाएसँगै जोशीले यसपटक आफ्नो समूह चुनाव नलड्ने, तठस्थ बस्ने निर्णय गरेको हो ।

जोशी कांग्रेसका पूर्वसहमहामन्त्री हुन् । कांग्रेसबाट गृह र शिक्षामन्त्री भइसकेका जोशीकै पहलमा अहिले सानेपामा रहेको केन्द्रीय कार्यालय निर्माण भएको हो । जोशीको तनहुँ २ मा सात हजारभन्दा बढी भोट छ । कांग्रेसले कारबाही फुकुवा गरिसकेकाले अब उनलाई पार्टीमा पूर्वपदाधिकारीको हैसियतमा बैठकमा भाग लिन बाटो खुलेको छ । आफूमाथि भएको अन्याय पार्टीका फोरममा राख्ने अवसर खुलेको छ । तनहुँवासी जोशीलाई कारबाही गरेर ठूलो अन्याय गरेकोमा सहमत छ । यदि जोशीले अब सुझबुझपूर्ण ढंगले राजनीति गरे भने उनलाई कांग्रेसमा फर्किएर फेरि पहिलेकै जस्तो हैसियत कायम गर्ने अवसर खुलेको छ ।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेलले २५ हजार मत ल्याएका थिए । जोशीले ६ हजारभन्दा बढी मत ल्याएका थिए । यदि अहिले जोशीले आफ्नो मत कांग्रेसको पक्षमा खसाल्ने वातावरण बनाइदिएमा कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले ३० हजार मत ल्याउने र त्यो जितका लागि पर्याप्त हुने नेताहरु बताउँछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *