श्रम स्वीकृति नपाएपछि हुमागाईंले छाडे चर्च ब्वाइज
काठमाडौं । श्रम स्वीकृति नपाएका कारण प्रदीप हुमागाईंले सहिद स्मारक ‘ए’ डिभिजन लिगको क्लब चर्च ब्वाइज युनाइटेडको प्रशिक्षकबाट राजीनामा दिएका छन् । उनीसँग अमेरिकी नागरिकता छ । नेपालको कानुन अनुसार नेपालमा काम गर्न उनले श्रम स्वीकृति लिनुपर्छ । श्रम स्वीकृति नपाएपछि हुमागाईंले राजीनामा दिनुपरेको हो । उनले आफूले राजीनामा दिएको बताएका छन् । ‘‘नेपाली फुटबलको अगाध माया र यसको सुदृढीकरणका लागि केही गर्न सकिन्छ भन्ने हेतुले केही समयदेखि जन्मभूमिमै रहेर फुटबल प्रशिक्षण गरिरहेको थिएँ । तर नेपालको प्रचलित कानुन, फिफा, एन्फा र एएफसीको नियमानुसार मैले अमेरिकी नागरिकता भएका कारण नेपालमा प्रशिक्षण गर्न श्रम स्वीकृति वर्क पर्मिट लिनुपर्ने र सो प्राप्त गर्न नसकेका कारण हिजो अप्रिल ४ देखि मैले अफिसियल कोचका रूपमा प्रशिक्षण गरिरहेको चर्च व्वाइज क्लब छोडेको जानकारी गराउन चाहान्छु, हुमागाईंले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । जारी लिगमा छैटौँ चरणको खेल सकिँदा नव प्रवेशी क्लब चर्च ब्वाइज १२ अंकका साथ दोस्रो स्थानमा छ । जुन शीर्ष स्थानको जावलाखेल युथ क्लबभन्दा एक अंकले पछाडि हो । हुमागाईंले यसअघि आफू ‘भोलिन्टियर प्रशिक्षक’का रूपमा काम गरिरहेको बताएका थिए । तर, उनले बुधबार क्लब छाडेको घोषणा गरेका हुन् । अखिल नेपाल फुटबल संघ एन्फाले गत असोजमा सम्पन्न नेपाल र बंगालदेशबीच मैत्रीपूर्ण खेलमा पनि हुमागाईंलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । उक्त खेलमा नेपाल ३–१ ले विजयी भएको थियो । तर त्यतिबेला पनि हुमागाईंलाई श्रमस्वीकृति बिना मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको भन्दै एन्फाको चर्को आलोचना भएको थियो । हुमागाईंले थ्री स्टारलाई ‘ए’ डिभिजन लिग च्याम्पियन बनाएका थिए । त्यसपछि अमेरिका पलायन भएका हुमागाईं २०७७ नेपाल सुपर लिगमा ललितपुर सिटीको प्रशिक्षक बनेका थिए । तर, लगातार चार खेलमा जितविहीन बनेपछि ललितपुरले उनलाई बर्खास्त गरेको थियो । चर्च ब्वाइजले हुमागाईंको स्थानमा संकटा क्लबका पूर्वप्रशिक्षक विष्णु गुरुङलाई मुख्य प्रशिक्षक तथा प्राविधिक निर्देशकका रूपमा नियुक्त गरेको छ ।