सामुदायिक विद्यालयमा इन्टरनेट जडान गर्न दूरसञ्चारले दियो पौने १५ करोड
काठमाडौं । भूकम्पबाट अतिप्रभावित जिल्ला र काठमाडौं उपत्यकाबाहेक ६६ जिल्लाका सामुदायिक आधारभूत विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट जडान गर्न नेपाल दूरसञ्चार प्राधिकरणले स्थानीय तहहरूलाई पहिलो चरणमा १४ करोड ७२ लाख भुक्तानी गरेको छ ।
प्राधिकरणले ग्रामीण दूरसञ्चार कोष परिचालन गरी भूकम्पबाट अतिप्रभावित आठ जिल्ला र काठमाडौं उपत्यकाबाहेकका ६६ जिल्लाका सामुदायिक विद्यालयमा २० एमबिपिएसको ननडेडिकेटेड ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान गर्ने कार्यक्रम सञ्चालन गरेको छ ।
इन्टरनेट जडानका लागि कुल ६ सय ५६ मध्ये तीन सय ४२ स्थानीय तहहरूसँग समझदारीपत्रमा हस्ताक्षर भइसकेको प्राधिकरणले जनाएको छ । उक्त परियोजनाअन्तर्गत हालसम्म दुई हजार दुई सय ८० सामुदायिक आधारभूत विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान भइसकेको छ ।
प्राधिकरणले भूकम्पबाट अतिप्रभावित आठ जिल्लाका तोकिएका स्थानहरूमा क्षमता अभिवृद्धि गर्न सात करोड ४८ लाख १४ हजार भुक्तानी गरेको छ । प्राधिकरणद्वारा सञ्चालित परियोजनाहरूमध्ये भूकम्पबाट अतिप्रभावित काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुंगाका स्थानीय तहका कार्यालयहरू, वडा कार्यालय र सामुदायिक माध्यमिक विद्यालयहरू, सामुदायिक स्वास्थ्य संस्थाहरूमा क्षमता अभिवृद्धि गर्न र जडान गर्न कार्य अघि बढाएको छ ।
प्राधिकरणले करिब चार हजार दुई सय ५१ आधारभूत विद्यालयमा इन्टरनेट जडान गरी दुई वर्षसम्मको शुल्क उपलब्ध गराउने समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । यसका लागि हालसम्ममा ७६ मध्ये ७३ पालिकाहरूसँग समझदारी भइसकेको प्राधिकरणले जनाएको छ । उक्त परियोजनाअन्तर्गत हालसम्म एक हजार चार सय ५१ स्थानहरूमा ब्रोडब्यान्ड इन्टरनेट सेवा जडान भएको छ ।