प्रदेश सांसद पिके राईमाथिको दुर्व्यवहार सुनियोजितः एमाले

खोटाङ । नेकपा एमाले खोटाङले प्रदेशको नामाकरणको विषयलाई लिएर सुनियोजितढंगबाट प्रदेश सांसद पाँचकर्ण राई (पिके)माथि दुव्र्यवहारको प्रयास भएको जनाएको छ ।

जिल्ला समन्वय समितिको सातौं जिल्लासभामा अतिथिका रुपमा बोलाइएका प्रदेश सांसद राईमाथि शनिबार पहिचान पक्षधरको नाममा पार्टीका कार्यकर्तालाई परिचालन गरेर दुव्र्यवहारको दुष्प्रयास भएको भन्दै एमालेले विज्ञाप्तिमार्फत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एमालेका सचिव कुमार आचार्यले आइतबार विज्ञाप्तीमार्फत कार्यक्रममा अतिथिका रुपमा आमन्त्रण गरी केही पार्टीका नेताहरुको ईसारामा योजनावद्ध ढंगले जिल्लासभाको रोस्टम प्रयोग गरी एमालेबाट निर्वाचित प्रदेश सांसद राईलाई आक्रमण गर्ने दुष्प्रयास भएको प्रतिक्रिया दिएका छन् । 

 विज्ञाप्तिमा प्रदेशको नामाकरणको निर्णय गर्ने प्रकृयामा सहभागी भएकै दलका जनप्रतिनिधि तथा नेताहरुको इसारामा एमालेबाट निर्वाचित जनप्रतिनिधिमाथि लक्षित गरी आक्रमणको प्रयास गर्ने तथा एकतर्फी दोषारोपण गरेर निरन्तर प्रहार गर्ने हर्कतप्रति घोर भर्त्सना गरिएको छ ।

‘केही जनप्रतिनिधिको संलग्नतामा पहिचान पक्षधरको नाममा पार्टीका कार्यकर्तालाई परिचालन गरी प्रदेश नामाकरणको विषयलाई लिएर सुनियोजितढंगबाट कार्यक्रम हलभित्र प्रवेश गराई माननीय पाँचकर्ण राई (पिके)लाई दुव्र्यवहारको दुष्प्रयास गर्न खोजेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञाप्तिमा भनिएको छ, ‘प्रदेश नामाकरणको निर्णय प्रकृयामा अधिकांश दलहरु सहभागी हुने तर निर्णय प्रकृयामा सहभागी भएका तिनै दलको जनप्रतिनिधि तथा नेताहरुको ईसारामा हाम्रो पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिमाथि लक्षित गरी आक्रमणको प्रयास गर्ने तथा एकतर्फी दोषारोपण गरेर निरन्तर प्रहार जस्ता हर्कतप्रति घोर भर्त्सना गर्दछ ।’ 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *