परराष्ट्रमन्त्री नियुक्त गरेसँगै प्रचण्डलाई भारत भ्रमण गर्न सहज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठौंपटक मन्त्रिपरिषद् विस्तार गरे पनि अझै पूर्णता दिन सकेका छैनन् । तर महत्वपूर्ण परराष्ट्रमन्त्री नियुक्त गर्न सफल भएका छन् ।

नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले आइतबार पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । शीतल निवासमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट उनले शपथ ग्रहण गरेका हुन् । साउद कञ्चनपुर २ बाट निर्वाचित भएका हुन् । पार्टीभित्र सभापति शेरबहादुर देउवा निकट नेताको रूपमा चिनिने साउद यसअघि सिँचाइमन्त्रीसमेत बनेका थिए ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी भइरहँदा साउदलाई परराष्ट्रमन्त्रीमा नियुक्त गरिएको हो । प्रचण्डले वैशाख अन्तिम साता भारतको भ्रमण गर्ने तय भएको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जानकारी दिएको छ । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको गृहकार्य सुरु भइसकेको छ ।

साउदले परराष्ट्रमन्त्रीको पदभार सम्हालेपछि दुवै देशका परराष्ट्रमन्त्रीको स्तरमा भ्रमणका एजेन्डा तय हुने बताइएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमण र भ्रमणका एजेन्डाहरूको विषयमा एक तहको संवाद अगाडि बढेको बताइए पनि परराष्ट्रमन्त्री नियुक्त भएपछि मात्रै औपचारिक रूपमा संवाद अगाडि बढ्ने बताइएको छ । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मिति चाँडै नेपाल र भारतको विदेश मन्त्रालयले घोषणा गर्ने भएका छन् ।

गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको पहिलो औपचारिक भ्रमण हुन लागेको हो । प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्ड स्वयंले आफनो पहिलो विदेश भ्रमण भारत हुने सार्वजनिक अभिव्यक्ति दिएका थिए । पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड चार महिनापछि पहिलो विदेश भ्रमणमा जाने भएका हुन् । परराष्ट्रमन्त्री नियुक्त नभईकन प्रचण्डको भारत भ्रमण हुने हो कि भन्ने एक किसिमको संशय आइतबारदेखि दूर भएको छ । कुनै पनि देशको सरकार प्रमुख वा राष्ट्र प्रमुखको विदेशको राजकीय भ्रमण गर्ने बेला साथमा परराष्ट्रमन्त्री हुनु आवश्यक मानिन्छ । सरकारका तर्फबाट गर्ने काम र भ्रमणका एजेन्डा सबै परराष्ट्रमन्त्रीले नै गर्ने प्रचलन छ । त्यसैले अब प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री साउद दुवैको पहिलो परीक्षण भारत भ्रमणले तय गर्ने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *