उपचुनावमा केपी ओली किन निष्क्रिय भए ?
काठमाडौं । निर्वाचन आयोगले बिहीबार मध्यरातिदेखि उपनिर्वाचनको प्रचारप्रसारमा रोक लगाएको छ । शुक्रबार बिहान देखि ४८ घन्टे मौन अवधि सुरु हुनेछ । सोही कारण बारा २, चितवन २ र तनहुँ १ मा उम्मेदवारी दिएका र समर्थन गरेका दलका नेताहरू अन्तिम प्रचारप्रसारमा सक्रिय भएर लागेका छन् ।
यसपटकको उपनिर्वाचनलाई पाँच वर्षपछि हुने आमनिर्वाचनको रिहर्सलका रूपमा पनि हेरिएको छ । तर यो उपनिर्वाचनमा एउटा पक्षबारे सबैजना आश्चर्यमा परेका छन्, त्यो हो एमाले अध्यक्ष केपी ओली कतै सार्वजनिक रूपमा देखिएनन् । पार्टी र भ्रातृसंगठनको भेला, गोष्ठीमा उपस्थित हुने ओलीको अनुहार उपचुनावमा कहीँकतै देखिएन । जबकि एमालेले बारा, चितवन र तनहुँ तीनवटै निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार उठाएको छ । एमालेले बारा २ मा पुरुषोत्तम पौडेल, चितवन २ मा रामप्रसाद न्यौपाने र तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाएको छ ।
चैत २० गते उम्मेदवारी दर्ता भएलगत्तै सबै दलले चुनाव प्रचारप्रसार थालेका थिए । उम्मेदवारहरू घरघर पुगेर मत माग्न थालेका हुन् । तर यो १५ दिनको अवधिमा ओलीले तीनवटै जिल्लामा पाइलै टेकेनन् । आखीर किन त ? एमालेकै नेता कार्यकर्ता पनि आश्चर्यमा परेका छन् । अहिले उनी बालकोटस्थित निवासमै आराम गरेर बसिरहेका छन् । पाँच दिनअघि झापा पुगेर फर्केका ओलीमा भाइरल ज्वरो देखिएपछि चिकित्सकले आराम गर्न सल्लाह दिएपछि ओलीको चितवन जाने कार्यक्रम रोकिएको थियो । त्यसपछि उनले सामाजिक सञ्जालबाटै पार्टीका उम्मेदवारलाई भोट मागेका थिए ।
मंसिरको निर्वाचनमा एमालेले ओलीलाई चुनावी कमान्डर बनाएको थियो । ओली एकै दिन हेलिकोप्टर लिएर तीनवटा जिल्लासम्म पुगे । प्रायः सबै ठूला सहरमा चुनावी सभालाई सम्बोधन गरे । तर एमालेले कास्कीबाहेक ठूला सहरमा कतै जितेन ।
एक वर्षअघि ओलीले स्थानीय तहको निर्वाचनमा पनि सबै ठूला सहरमा भाषण गरेका थिए । एउटा पनि महानगरपालिका जित्न सकेन । ओली वान मेन शो थिए । एक्लै जान्थे । भाषण गर्थे फर्किन्थे । कसैलाई लैजाँदैनथे । तर यसपटक ओली बालकोटबाट बाहिर ननिस्किएपछि एमालेका पदाधिकारी ‘ग्रास रुट’ अभियानमै सीमित भए । बरु एमालेले ‘ग्रास रुट’ अभियानलाई मध्यावधिको तयारी भन्दै प्रचार थालेको छ ।
जबकि यो उपनिर्वाचनमा तीनवटै निर्वाचन क्षेत्रमा रास्वपाले क्लिन स्विप गरे वा बारामा जनमत पार्टीले जितेमा अर्को निर्वाचनमा ठूला दलको सान्दर्भिकता सकिने विश्लेषण हुन थालेको छ ।