प्रचण्ड चुनावी प्रचारमा हिँडेपछि रास्वपा सरकारमा आउने ढोका बन्द

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चुनावी प्रचारमा हिँडेपछि राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सामेल हुने ढोका बन्द भएको छ । रास्वपा पनि अहिलेकै गठबन्धनमा छ । प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि सरकारमा भने सहभागी छैन । रास्वपा सभापति रवि लामिछानेले उपनिर्वाचनपछि मात्र पार्टी सरकारमा सहभागी हुने बताएकाले सो पार्टीका कोही पनि सहभागी छैनन् ।

तर उपनिर्वाचनको प्रचारप्रसारमा प्रधानमन्त्री प्रचण्ड आफैं हिँडेपछि रास्वपा सरकारमा जाने सम्भावना सकिएको छ । प्रचण्डले सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराई, जितनारायण श्रेष्ठ र उपेन्द्र यादवका लागि निर्वाचन क्षेत्रमै पुगेर भोट मागेपछि रास्वपा भड्किएको छ । रास्वपाले कम्तीमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस र जसपाका उम्मेदवारलाई भोट माग्न चुनावी सभामा सहभागी होलान् भन्ने कल्पनासमेत गरेको थिएन । तर, प्रधानमन्त्री हेलिकोप्टर लिएर तनहुँ, चितवन र बारा पुगेपछि रास्वपाले आफूविरुद्ध मोर्चाबन्दी भएको निष्कर्ष निकालेको छ ।

रास्वपाले प्रचण्डलाई विश्वासको मत दिनुको मुख्य कारण उपनिर्वाचनलाई लक्षित गरेरै हो । प्रचण्डलाई विश्वासको मत दिँदा माओवादी मतदाताको मत आफ्ना उम्मेदवारले पाउने आशा रास्वपाले राखेको छ । माओवादीले कतै पनि उम्मेदवार उठाएको छैन । अझै पनि कांग्रेसका उम्मेदवारलाई माओवादी मतदाताले मत दिनेमा कोही पनि विश्वस्त छैनन् । यदि माओवादीले आफ्ना पूरै भोट कांग्रेसलाई खसाल्यो भने चितवन र तनहुँमा नतिजा अर्कै आउन सक्छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *