टोरन्टो अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै २ अर्ब रुपैयाँको सुन चोरी
टोरन्टो । क्यानडाको टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० मिलियन क्यानेडियन डलर (करिब २ अर्ब नेपाली रुपैयाँ) बराबरको सुन चोरी भएको छ । ओन्टारियो प्रान्तबाट निकालिएको सुन अन्यत्र लैजानका लागि टोरन्टो विमानस्थल प्रयोग हुने गरेको छ ।
क्यानडेली प्रहरीका अनुसार गत अप्रिल १७ मा १५ मिलियन अमेरिकी डलर बराबरको सुन अन्य बहुमूल्य वस्तु चोरी भएको हो । सुन र बहुमूल्य वस्तु राखिएको कन्टेनर कार्गो होल्डिङ केन्द्रमा लैजाने क्रममा चोरी भएको प्रहरीको अनुमान छ । अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार संगठित आपराधिक समूह चोरीमा संलग्न भएको अनुमान गरिएको छ ।
क्यानडेली इतिहासमा यो सबैभन्दा ठूलो चोरीमध्येको एक हो । यसअघि सन् २०११ र २०१२ मा क्यानडामा करिब ३ हजार टन म्यापल सिरप चोरी भएको थियो । क्युबेक चोरी काण्डमा करिब १८.७ मिलियन अमेरिकी डलरबराबरको सिरप चोरी भएको थियो ।