कम्युनिष्टहरु एक हुन जरुरी छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले कम्युनिष्ट पार्टीहरूबीच एकताको पहल भइरहेको बताएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर नेकपा एकीकृत समाजवादीले आइतबार आयोजना गरेको ‘नेपाली कम्युनिष्ट आन्दोलनः उपलब्धि चुनौती र सम्भावना’ विचार गोष्ठीमा यस्तो बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले आफूले कम्युष्टिहरु एक हुनुपर्नेमा जोड दिँदै आएको बताउँदै भने, ‘जो कम्युनिष्ट पार्टीको एकता वा जनवादी केन्द्रियतको सिद्धान्त, सामूहिक नेतृत्वको सिद्धान्तविरुद्ध छन्, उनीहरू एकताको पक्षमा छैनन् । तर, हामीहरू अहिले पनि एकताकै पक्षमा छौं ।’
राष्ट्र र जनताको आवश्यकता अनुसार कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने उनले बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘माधव कमरेड र हामीहरूसहित थुप्रै नेतासँग जे छलफल भइरहेको छ । हामी भनिरहेका छौं नेकपातिरै फर्किनुपर्छ । कम्युनिष्ट पार्टीमा नेतृत्वलाई चाबी भन्ने गरिन्छ र हो पनि ।’ उनले नेतृत्वले गलत विचार अगिंकार ग¥यो भने ठूलो क्षति हुने बताउँदै नेकपा गठनको औपचारिक प्रस्ताव आफूले नै गरेको स्मरण गरे ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले पनि देशभक्त कम्युनिष्टहरूलाई भन्न चाहन्छु, राष्ट्रिय स्वाधीनताको सुदृढीकरणका निम्ति हामी एक हुन जरुरी छ । आउनुस् बसौं सँगै विनाआग्रह र पूर्वाग्रह समीक्षा गरौं ।’ केही दिनभित्रै समाजवादी मोर्चा घोषणा गरेर सबैलाई नेकपातिर फर्किने अपील गर्ने समेत उनले बताए ।