किष्ट शिक्षण अस्पतालले गर्यो पहिलो पटक कलेजो प्रत्यारोपण
काठमाडौं । ललितपुरको किष्ट शिक्षण अस्पतालले पहिलो पटक कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ । अस्पतालका अनुसार प्रत्यारोपणका लागि कलेजो अङ्ग ग्रहण गर्ने र दान गर्ने शंखरापुर नगरपालिका–६ का दम्पती हुन् । किष्ट शिक्षण अस्पतालले विगत दुई वर्षदेखि मृगौला प्रत्यारोपण गर्दै आइरहेकोमा कलेजो प्रत्यारोपण सेवा पहिलो पटक सम्पन्न गरेको हो । नेपालमा प्राइभेट अस्पतालहरु मध्ये मृगौला र कलेजो दुवै अङ्गहरुको प्रत्यारोपण सेवा उपलब्ध गराउने यो एक मात्र अस्पताल भएको किष्ट अस्पतालले जनाएको छ । कलेजो प्रत्यारोपण कार्यमा नेपाल तथा भारतका वरिष्ठ ट्रान्सप्लान्ट सर्जन, ग्यास्ट्रो सर्जन, एनेस्थेसिओलोजिस्ट, ट्रान्सप्लान्ट हेपाटोलोजिस्टि, ब्लडबैंक, अपरेसन थिएटर, रेडियोलोजी तथा नर्सिङ्गका दक्ष प्राविधिकहरु गरी ४० जना परिचालित थिए । उक्त शल्यक्रिया सम्पन्न गर्न भारतस्थित इन्दप्रस्थ अपोलो अस्पतालका डा. निरभ गोयल, डा. अरुणकुमार भेनुथुरिमिल्ली र डा. सञ्जिव अनेजाको सहभागी रहेको थियो भने प्रतिष्ठानका तर्फबाट वरिष्ठ शल्यचिकित्सक प्रा.डा. मुकुन्दराज जोशीको नेतृत्वमा डा. एकानन्द सिंह, डा. वरुण श्रेष्ठ लगायत एनेस्थेसिया विभाग, क्रिटिकल केयर विभाग तथा ग्यास्ट्रोइन्टेरोलोजी विभागका सदस्यहरुको सहभागिता रहेको थियो । प्रत्यारोपण शल्यक्रिया सम्पन्न गर्न १५ घण्टाको समय लागेको थियो । कलेजो प्रत्यारोपण आफैंमा जटिल हुनुका साथै निकै खर्चिलो समेत हुन्छ । राज्यले तोकेको कडा रोगहरुको सूचीमा कलेजो रोग समावेश नभएको हुदाँ कलेजो प्रत्यारोपण गर्नुपर्ने बिरामीहरुलाई आर्थिक सहयोगको कानुनी व्यवस्था हुन सकेको छैन, यस तर्फ राज्यको कुनै पहल भएमा कलेजो पिडीत बिरामीहरुलाई राहत हुने अस्पतालले बताएको छ ।
हाल सम्पन्न भएको प्रत्यारोपणमा अस्पतालका तर्फबाट सहुलियत दरमा सेवा उपलब्ध गराइएको थियो । मुलुकले अङ्ग प्रत्यारोपण गर्नुपर्ने अवस्थाका गम्भीर बिरामीहरुको ठूलो चाप व्यहोरिरहेको यस अवस्थामा किष्ट शिक्षण अस्पतालले विगत २ वर्षमा जटिल उपकरण एवं दक्ष जनशक्तिको व्यवस्थापनलाई प्राथमिकतामा राखी सर्वसाधारणलाई यो सेवा सहज रुपमा दिन आफूलाई अङ्ग प्रत्यारोपणको एक केन्द्रको रुपमा स्थापित गरेको जनाएको छ । मानव शरीरमा पाचन प्रक्रिया तथा अन्य धेरै शारीरिक प्रणालीहरु सुचारु रुपले सञ्चालन हुनमा कलेजोको अत्यन्त महत्वपूर्ण योगदान हुन्छ, साथै यसको रक्त सञ्चार प्रणाली जटिल प्रकारको रहेको हुन्छ । विभिन्न कारणले कलेजो बिग्रिदै गएमा शरीरमा विभिन्न जटिल समस्याहरु आउने र यसले गर्दा बिरामीको ज्यान खतरामा पर्ने प्रा.डा. सिताराम चौधरीले जानकारी दिए । प्रा.डा.मुकुन्दराज जोशीका अनुसार यस्तो अवस्थाका बिरामीलाई स्वस्थ कलेजो भएका आफन्त दाताहरुबाट कलेजोका केही भाग झिकेर बिरामीको बिग्रिएको कलेजो निकालिएको ठाउँमा नै प्रत्यारोपण गरिन्छ । उक्त प्रकृयालाई शल्यक्रिया क्षेत्रमा नै अत्यन्त जटिल, जोखिमयुक्त तथा महत्वपूर्ण उपलब्धिको रुपमा लिइने बताए ।