बालेनले काठमाडौंमा कर्मचारी र हर्कबाट धरानका जनप्रतिनिधिमा आतंक सिर्जना

काठमाडौं । दुई स्वतन्त्र मेयरका कारण अहिले काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकामा आतंक सिर्जना भएको छ । काठमाडौंका मेयर बालेन्द्र साहले कर्मचारी र धरानका मेयर हर्कराज राई साम्पाङले जनप्रतिनिधिमा आतंक सिर्जना गरेका हुन् । दुवैको एउटै लक्ष्य छ, अख्तियार लगाएर कर्मचारी र जनप्रतिनिधि तह लगाउने ।

काठमाडौं महानगरपालिकामा कार्यरत केही कर्मचारी भ्रष्टाचारमा लागेको भन्दै महानगर प्रमुख बालेन उजुरी लिएर आफैं अख्तियार पुगेका छन् । महानगरको कामकारबाहीमा कानूनसम्मत काम नगरी भ्रष्टाचारमा लागेको भन्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मौखिक उजुरी दिएका हुन् । अकूत सम्पत्ति कमाएको र भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले महानगरका कर्मचारीलाई फारम भराएर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ । अख्तियारले ३२ जना कर्मचारीलाई व्यक्तिगत तथा पारिवारिक सम्पत्ति विवरण फारम भराएको हो ।

कर्मचारीको व्यक्तिगत तथा पारिवारिक विवरण, अचल सम्पतिको विवरण, चल सम्पतिको विवरण जसमा बैंक तथा वित्तीय संस्थामा रहेको सेयरहरूको विवरण साथै लकरको विवरण भराइरहेको छ । आफ्नो खाता नम्बर र त्यसमा रहेको रकमको विवरणसमेत भर्नुपर्नेछ । लामो समयदेखि महानगरको लेखा, खरिद तथा आम्दानी सम्बन्धित महाशाखामा कार्यरत कर्मचारीको सम्पत्ति छानबिनका लागि महानगरका प्रमुख आफैले सिकायत गरेका हुन् । विवरण शंकास्पद देखिएमा अख्तियारले कर्मचारीहरूलाई बयानका लागि बोलाउने गर्छ ।

निर्वाचित भएर आएको एक वर्षसम्म मेयर बालेनको कर्मचारी र अरु जनप्रतिनिधिसँग राम्रो सम्बन्ध छैन । उनी आफ्ना कर्मचारीसँग दोहोरो संवादसमेत गर्न मन पराउँदैनन् । दलीय जनप्रतिनिधिलाई उनले फरक व्यवहार गर्ने गरेको महानगरका कर्मचारीहरू बताउँछन् ।

महानगरमा ३२ जना वडाध्यक्ष भए पनि दुई चारजना बाहेक अरुसँग उनको हार्दिक सम्बन्ध छैन ।

अर्कातिर धरानमा त मेयर राईको म्यासेज आतंक अर्कै छ । उनको पनि उपमहानगरका कोही जनप्रतिनिधिसँग ठ्याक मिलेको छैन । जसकारण अहिलेसम्म कार्यपालिका बैठकसमेत प्रभावित हुँदै आएको छ । हर्कले बोलाएको बैठकमा समेत वडाध्यक्ष, वडा सदस्य जाँदैनन् । त्यसैले केही दिनअघि उनले आफूलाई सहयोग नगर्ने सबै जनप्रतिनिधिको राजीनामा मागेका थिए । राजीनामा माग्दा पनि टेरपुच्छर नलागेपछि अहिले उनले वडाध्यक्षसहितका जनप्रतिनिधिविरुद्ध अख्तियारमा उजुरी हालेका छन् ।

उनले बडो गर्वका साथ आफूले धेरै सम्पत्ति हुने जनप्रतिनिधिविरुद्ध अख्तियारमा उजुरी हालेको र त्यसबारे जानकारी दिन प्रमुख आयुक्त प्रेमकुमार राईको फोन नम्बर चाहियो भन्दै सामाजिक सञ्जालमा छरपष्ट पारेका छन् । यसरी अख्तियार नै लगाएपछि ठर थुरथुर हुँदै वडाध्यक्षहरूले आफूले भनेको खुरुक्क मान्छन् भन्ने हर्कलाई परेको देखिन्छ । तर धरानका विभिन्न वडाध्यक्षहरूले हर्कलाई खुलेयाम चुनौती दिएका छन् ।

नेपालको संविधानमा स्थानीय तहका जनप्रतिनिधिलाई भ्रष्टाचारबाहेक अन्य आरोपमा कारबाही वा निलम्बन गर्नसक्ने व्यवस्था छैन । सोही भएर हर्कले अख्तियार आतंक गरेको बुझिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *