सरकार र आन्दोलनरत महावीर पुन पक्षबीच वार्ता हुँदै

काठमाडौं । सरकारी वार्ता टोली र आन्दोलनरत राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं वैज्ञानिक महावीर पुन पक्षबीच सोमबार अपराह्न ४ बजे वार्ता हुने भएको छ । यसअघि दिउँसो साढे ३ बजेदेखि वार्ता हुने भनिए पनि आधा घन्टा सारिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सुमनराज अर्याल नेतृत्वको वार्ता टोलीले आज पुनः वार्ता गर्न लागेको हो । अर्थ मन्त्रालय, शिक्षा मन्त्रालय, कानुन मन्त्रालय र राष्ट्रिय योजना आयोगका सहसचिव तथा सार्वजनिक खरिद अनुगमन कार्यालयका प्रतिनिधि सदस्य रहेको समितिले पुनको टोलीसँग आइतबार तीन घन्टा वार्ता गरेको थियो । तर, कुनै सहमति जुट्न नसकेपछि आज फेरि वार्ता हुन लागेको हो ।

वैज्ञानिक पुनले आइतबार उपप्रधानमन्त्री पूर्णबहादुर खड्का र मुख्यसचिव शंकरदास बैरागीसँग समेत वार्ता गरेका थिए । पुनले वार्ता सकारात्मक भएको जनाएका थिए । पुन नेतृत्वको टोली अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा विकास बजेटको एक प्रतिशत रकम छुट्याउनुपर्ने र अनुसन्धान–नवप्रवर्तन–आविष्कार कोष’ बनाउनुपर्नेसहित चारवटा माग राखेर वैशाख १४ बाट माइतीघरमा धर्नामा छ । पुनको धर्नामा ऐक्यबद्धता बढ्दै गएको छ । प्रधानमन्त्री प्रचण्डले आफूसँगकै सल्लाहमा पुन धर्नामा गएको बताएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *