डाक्टरको परामर्श शुल्क बढाइयो


काठमाडौं । नेपाल चिकित्सक संघ र एशोसिएसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल अफिनको बैठकले डाक्टरहरुको परामर्श शुल्क बढाउने निर्णय गरेको हो । आगामी जेठ १ गतेदेखि अस्पतालको बहिरंग ओपीडी शुल्क वृद्धि हुने भएको छ । चिकित्सक संघ र अफिनले एक विज्ञप्ति जारी गर्दै चिकित्सकको अनुभव र योग्यताका आधारमा ४ सय २० देखि ९ सय ४० सम्म शुल्क लिन पाउने गरी निर्णय भएको जनाएको छ ।

१८ चैत २०७९ मा बसेको नेपाल चिकित्सक संघ र अफिनको संयुक्त बैठकबाट नेपाल राष्ट्र बैंकको मुद्रा स्फीति दर तथा शुल्क निर्धारण समितिको सिफारिसलाई आधार मानी नयाँ परामर्श शुल्क सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । परामर्श शुल्क कार्यावन्यन गर्न चिकित्सक, स्वास्थ्य संस्था तथा अस्पताललाई आग्रह समेत गरेका छन् । विज्ञप्तिमा उल्लेख भए अनुसार एमबीबीएस र बीडीएस चिकित्सकहरु ५ वर्ष अनुभव भएकाले ४ सय २० र ५ वर्षभन्दा बढी अनुभव भएकाहरुले ५ सय १५ रुपैयाँ परामर्श शुल्क लिन पाउनेछन् । यस्तै, डिप्लोमा चिकित्सकहरु ५ वर्ष अनुभव भएकाले ५ सय ९० र त्यसभन्दा बढी अनुभव भएकाहरुले ६ सय ७० शुल्क लिन पाउनेछन् । यस्तै, एमडी, एमएस र एमडीएस चिकित्सकहरु ५ वर्ष अनुभव भएकाले ७ सय ५० र त्यसभन्दा बढी अनुभव भएकाहरुले ८ सय रुपैयाँ शुल्क लिन पाउनेछन् ।

डीएम तथा एमसीएच गरी ५ वर्ष अनुभव भएकाहरुले परामर्श शुल्कवापत ८ सय ८० रुपैयाँ लिन पाउनेछन् । डीएम तथा एमसीएच गरी ५ वर्षभन्दा बढी अनुभव भएका तथा एमडी एमएस, एमडीएस गरी १० वर्षभन्दा बढी अनुभव भएकाहरुले ९ सय ४० रुपैयाँ परामर्श शुल्क लिन पाउनेछन् । निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा मासिक रुपमा नियुक्ति लिएका मेडिकल अफिसरको हकमा भने न्यूनतम तलब ४२ हजार रुपैयाँ कायम गराउने पनि विज्ञप्तिमा उल्लेख छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोन पोखरेलले भने नेपाल चिकित्सक संघ र अफिनलाई चिकित्सकको परामर्श शुल्क बढाउने अधिकार भएको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *