बादलकी पत्नी नैनकला र अख्तियार प्रमुख राई अनुसन्धानको घेरामा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणले नेपालका ठूला र उच्चपदस्थ व्यक्तिहरूको मुखुण्डो उतारिदिने देखिएको छ । आठ सय ७५ जना नेपालीलाई नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका व्यक्तिहरू धमाधम पक्राउ पर्न थालेका छन् । यो काण्डमा ठूला नेता भनिनेहरूको नाम मुछिने क्रम जारी छ ।

पक्राउ परेकाहरूको बयानका आधारमा प्रहरीले अहिलेसम्म नौजनालाई नियन्त्रणमा लिइसकेको छ । बुधबार पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा र सचिव टेकनारायण पाण्डे पक्राउ परेका थिए । बिहीबार बिहान एमाले सचिव टोपबहादुर पनि पक्राउ परेका छन् ।

अब प्रहरीको अनुसन्धानको तिर एमाले उपाध्यक्ष रामबहादुर थापा बादलकी श्रीमती नैनकल थापा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईतिर सोझिएको छ । गृहसचिव भएका बेला राईले समेत गिरोहसँग मिलेर कागजपत्र बनाएको खुलेको छ । आफ्नो नाम पनि मुछिएपछि अख्तियार प्रमुख राई तनावमा परेका छन् ।

पक्राउ परेका पाँचजनाले भने पूर्वगृहसचिवसमेत रहेका अख्तियार प्रमुख राई र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी धर्मपत्नी नैनाकला थापाको समेत नाम लिएका छन्। बयानमा उनीहरुको नाम पोलिएको भए पनि प्रहरीले अहिलेसम्म उनीहरुविरुद्ध पक्राउ पुर्जी भने जारी गराइसकेको छैन।

‘बयानमा उहाँहरुको नाम पोलिएको छ। तर थप पुष्टि हुने आधार हेर्दैछौं। ज–जसको पुष्टि हुने आधार देखिएको छ, उहाँहरुविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ। थप पुष्टि भए अन्यविरुद्ध पनि पक्राउ पुर्जी लिन्छौं र कारबाहीको दायरामा ल्याउँछौं,’ एक अनुसन्धान अधिकृतले भने ।

नैनकला एमाले नेतृ हुन् । यसअघि बादल–नैनकला पुत्र प्रतीक थापालाई पनि प्रहरीले पक्राउ पुर्जी जारी गरिसकेको छ । प्रतीक र टोपबहादुर रायमाझीका छोरा सन्दीप दुवैले गिरोहका सदस्यसँग करोडौंको चेक बुझेको प्रहरीले फेला पारेको छ । श्रीमती र छोराको नामसमेत मुछिएपछि प्रहरीले अब बादललाई पनि अनुसन्धानको घेरामा राख्ने भएको छ ।

बादल र टोपबहादुर दुवै पूर्वमाओवादी नेता हुन् । उनीहरूलाई इन्द्रजित राईले फसाएको देखिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *