पूर्वगृहमन्त्री खाँणलाई चार दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अनुसन्धानका लागि थुनामा राख्न ४ दिन म्याद थप गरिएको छ ।महान्यायाधिवक्ता दीनमणि पोखरेलका अनुसार पूर्वमन्त्री खाँणलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाउन चार दिनको म्याद लिइएको हो।
प्रहरीले खाणसँगै उनका पीए नरेन्द्र केसीलाई पनि पक्राउ गरेको थियो ।खाँणसँगै उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले म्याद थपको अनुमति लिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका उनलाई अनुसन्धानका लागि प्रहरीले बुधबार मैजुबहालस्थित निवासबाट पक्राउ गरेको हो ।
आफू गृहमन्त्री हुँदा खाँणले रोजेका तत्कालीन गृह सचिव टेकनारायण पाण्डेसहित १० जना सबुतसहित पक्राउ परिसकेका छन् । प्रहरी हिरासतमा रहेका नेपाल सरकारका सचिव पाण्डेले पूर्वगृहमन्त्री खाँणको समेत नाम लिएका थिए ।
आरोपितहरूको बयानका आधारमा अनुसन्धानमा खाँण तानिएका हुन् । यस अघि प्रहरीले नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी गरेपनि उनी अहिलेसम्म फरार रहेका छन् ।