गर्भवती र नवजात शिशुको स्वास्थ्यमा अझै ध्यान पुगेन

काठमाडौं । जिल्लामा हरेक वर्ष सुत्केरी हुने महिलामध्ये ५३ प्रतिशतले मात्रै गर्भावस्थामा नियमित आइरन चक्की सेवन गर्छन् । सतचालिस प्रतिशत गर्भवती महिलाले भने अझै पनि आइरन चक्की प्रयोग नगरेको पाइएको छ ।

गर्भावस्था र सुत्केरी अवस्थामा रक्तअल्पताबाट जोगाउन स्वास्थ्यकर्मीले आइरन चक्कीे प्रयोग गर्न सुझाउने गरेका छन् । गर्भ जाँचका लागि स्वास्थ्य संस्थामा पुग्ने अधिकांशले नियमित आइरन चक्की प्रयोग गर्ने गरे पनि कपितपयले गर्भवती समय घर्किएपछि मात्रै आइरन चक्की खान स्वास्थ्य संस्था पुग्ने गरेका छन् । जनचेतनाको अभाव, हेलचक्र्याई र परम्परागत सोचका कारण पनि सबै गर्भवतीले आइरन चक्कीे प्रयोग नगर्ने गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले बताए ।

यो हेलचक्र्याई हो, स्वास्थ्यकर्मी र स्वयंसेविकाले पटक–पटक सुझाउँदासमेत गर्भवतीले आइरन चक्कीे प्रयोग गर्दैनन्” उनले भने । आइरन चक्की मात्रै होइन नियमित गर्भपरीक्षण गर्ने र भिटामिन ‘ए’ खानेको सङ्ख्या पनि कम छ । अठचालिस प्रतिशत गर्भवतीले भिटामिन ‘ए’ प्रयोग गर्ने गरेको र ५८ प्रतिशतले मात्रै नियमित स्वास्थ्य संस्थामा पुगेर चार पटकसम्म गर्भजाँच गर्ने गरेको तथ्याङ्क छ । “विश्व स्वास्थ्य सङ्गठनले गर्भावस्थामा आठ पटक गर्भजाँच गर्नुपर्ने बताए पनि चार पटकसम्म जाँच गराउनेको सङ्ख्या नै कम छ” प्रमुख शर्माले भने “गलकोटमा सबैभन्दा धेरै २४ र ढोरपाटनमा सबैभन्दा कम पाँच प्रतिशतले मात्र आठ पटकसम्म गर्भ जाँच गराएका छन् ।”

गर्भावस्थामा मात्रै होइन प्रसूति अवस्थामासमेत गर्नुपर्ने नियमित जाँच नहुने गरेको छ । सुत्केरी अवस्थामा आमा र बच्चाको ज्यान गर्भावस्थामा भन्दा बढी जोखिममा हुन्छ । तर तोकिएबमोजिम सुत्केरी अवस्थामा पनि गर्नुपर्ने जाँच नहुने गरेको तथ्याङ्क छ । जिल्लाभर सुत्केरी अवस्थामा गर्भ जाँच गराउनेकोे सङ्ख्या ३० प्रतिशत मात्रै छ ।

“बच्चा जन्मेको २४ घण्टामा पहिलो पटक, तीन दिन र सात दिनमा एक÷एक पटक तथा ४५ दिन सम्ममा एक पटक आमा र बच्चाको स्वास्थ्य जाँच गराउनैपर्छ, तर पहिलो २४ घण्टाभन्दा पछि सुत्केरी एकै पटक ४५ दिनमा स्वास्थ्य संस्थामा पुग्ने धेरै छन्” धौलागिरि अस्पतालका स्त्रीरोग विषेशज्ञ डा विजय ओझाले भने , “बच्चा जन्मेपछि बच्चाको ख्याल गर्ने परिवारले आमाको वास्तै गर्दैनन्, यस्तो बेला रक्तस्राव हुने र पाठेघर नखुम्चिने समस्या आउन सक्छन् तर समस्या जटिल भएपछि मात्रै अस्पताल आउने प्रचलन छ ।”

जिल्लाका अधिकांश स्थानीय तहले गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्थ्यको क्षेत्रमा कयौँ राम्रा काम गरिरहेका छन् । स्थानीय तह, स्वास्थ्य कार्यालय, अस्पताल र प्रदेश तथा सङ्घीय सरकारका कार्यक्रम हुँदाहुँदै पनि नागरिक तहमा रहेको हेलचक्र्याईले गर्भवती, सुत्केरी र नवजात शिशुको स्वास्यमा समस्या आउने गरेको छ । जिल्लामा शतप्रतिशत स्वास्थ संस्थामै सुत्केरी हुनेगरे पनि स्वास्थ्यका मापदण्ड पालनमा थुपै्र चुनौती रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

परिवारनियोजन, सुरक्षित मातृत्व तथा नवजात शिशुको स्वास्थ्यको विषयमा सरोकारवाला सबै सचेत हुनुपर्नेमा सम्बच चिकित्सकको सुझाव छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *