सांसदको तिमल्सिनाको प्रश्न : बैंकमा राखेको पैसा समेत सुरक्षित हुँदैन भने कहाँ राख्ने हो ?
काठमाडौं । सांसद देवप्रसाद तिमल्सिनाले माछापुच्छ्रे बैंकको चन्द्रपुर शाखामा जम्मा गरेको रकम कहाँ गयो भनेर प्रश्न गरेका छन् । आज (सोमबार) संसदमा शून्य समयमा बोल्दै उनले बैंकबाट रकम गायब पार्नेलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।
‘किसानले छोरीको बिहे गर्न माछापुच्छ्रे बैंकमा जम्मा गरियो । जम्मा भएको रकमको रेकर्ड उहाँको मोबाइलमा आयो । आइतबार झिक्न जाँदा पैसा छैन ।’ उनले भने, ‘तत्काल खातावालालाई रकम दिएर, ह्याक गर्ने त्यस्तो अपराधिलाई कानुनी कठघरामा ल्याएर कारबाही गर्न माग गर्दछु ।’
आइतबार चेक साट्न गएका बृन्दावन नगरपालिका–३ का रामेश्वरराय यादवको खाताबाट ९ लाख रकम हराएको हो । गत शुक्रबारसम्म उनको खातामा १२ लाख २० हजार रकम जम्मा थियो । बृन्दावन नपाका पूर्व वडाध्यक्ष समेत रहेका सेवाग्राही यादवको खाताबाट रकम हराएपछि आइतबार दिनभर स्थानीयले बैंकमा भेला भएका थिए । गत बिहीबार उनले १२ लाख २० हजार रकम माछापुछ्रे बैंकमा जम्मा गर्न चेक (क्लिरियन्समा) दिएका थिए ।
खातावाला पीडित यादवले बैंककै कर्मचारीको मिलोमतोमा पैसा गायब भएको आरोप लगाएका छन् । खाताबाट पैसा हरायो भनेर बिहानै जानकारी गराउँदा समेत बैंक प्रमुख दासले बेवास्ता गरेको पीडितको भनाई छ ।