नख्खु-भैंसेपाटी सडक जेठभित्र सम्पन्न हुन्छ : मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नख्खु-भैँसेपाटी सडक खण्डको काम जेठ महिनाभित्रमा सम्पन्न हुने जानकारी दिएका छन् ।

सोमबार मन्त्रालयको टोलीले सडक खण्डको अवलोकन तथा निरीक्षण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अब यस क्षेत्रका बासिन्दाले लामो समय धुलो र सास्ती व्यहोर्नु नपर्ने जनाए ।

उनले आफू मन्त्री हुँदा यस सडक खण्डको विशेष चर्चा भइरहेको र आफूले चर्चा कम गर्न काम गरेर देखाउन निर्देशन दिएको जनाए । उनले अबको एक हप्ताभित्र सडकखण्डको कालोपत्रे हुने जानकारी दिए । उनले यसअघि सम्बन्धित निकायहरुसँगको समन्वय कम हुँदा विभिन्न व्यवधान आइरहेकाले आफूले समन्वय र सहजीकरणमा कमी हुन नदिने प्रतिबद्धता जनाए । उनले आफूले निरीक्षणका क्रममा चाँडो काम सम्पन्न गर्न निर्देशन दिएको जनाए ।

‘ यो २६ करोडको ठेक्का लागेको र पछिल्लो समयमा अलि धेरै चर्चा बहसको विषय थियो । म आउने बित्तिकै हाम्रो टिम बसेर यो सडकलाई चर्चामुक्त गरेर, चर्चामुक्त भनेको धुलो मुक्त गर्नु हो । त्यसका लागि छिटो भन्दा छिटो काम सम्पन्न गरेर कालोपत्रे गर्नुपर्ने अवस्था थियो, उनले भने, केही दिनमा मुल कामहरु सकिन्छ । जेठ महिना भित्र काम पूरा हुने अवस्था छ ।

मन्त्री ज्वालाले आगामी दिनमा देशभरका सडक, पुलहरु निर्माणका लागि अन्तरमन्त्रालयसँग समन्वय गरी एकै पटकमा काम सक्ने गरेर काम गर्ने प्रतिबद्धता जनाए । उनले बजेट प्रस्तुत भइसकेपछि मन्त्रालयसँग सम्बन्धित विषयमा फिल्डमा नै गएर समस्या समाधान गर्ने बताए । उनले आगामी दिनमा अनुगमन र निरीक्षणको क्रमलाई तीव्रता दिने जनाए ।

सरकारले महत्त्वपूर्ण सडकका खाल्डाखुल्डी पुर्ने कामलाई प्राथमिकतामा राख्ने जानकारी दिँदै मन्त्री ज्वालाले काठमाडौं उपत्यकामा खाल्डाखुल्डी पुर्ने काम तीव्र गतिमा अघि बढेको र आगामी वर्षको बजेटमा खाल्डाखुल्डी पुर्न रोड एम्बुलेन्सको परिकल्पना गरेको जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *