युनाइटेड अजोडको लक्ष्य, सिनर्जीका साथ उत्कृष्ट सेवा दिने


काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) र अजोड इन्स्योरेन्स एकआपसमा गाभिएर बनेको युनाइटेड अजोड इन्स्योरेन्सका एकीकृत कारोबार सुरु भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आइतबार काठमाडौंमा आयोजित विशेष समारोहमा नयाँ कम्पनीका अध्यक्ष आजाद श्रेष्ठलाई इन्स्योरेन्स अपरेसन्स लाइसेन्स हस्तान्तरण गरेका थिए । मर्जरसँगै कम्पनीको चुक्ता पुँजी एक अर्ब ९० करोड ४६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको सामान्य जगेडा कोषमा ५९ करोड ६७ लाख र बीमा कोषमा ७२ करोड ६४ लाख रुपैयाँ छ ।

कम्पनीको नेट वर्थ तीन अर्ब २६ करोड ३५ लाख पुगेको छ । त्यसैगरी, शाखा संख्या १०० र कर्मचारी संख्या ५ सय ८१ कायम भएको छ । बीमालेख संख्या १ लाख ९२ हजार ८२५ र कुल प्रिमियम २३९ करोड ७९ लाख रुपैयाँ पुगेको छ । नियमनकारी निकायले तोकेका क्षेत्रहरुमा गरिएको कम्पनीको लगानी ३ अर्ब ९८ करोड ७९ लाख रुपैयाँभन्दा माथि पुगेको छ । समारोहलाई सम्बोधन गर्दै बीमा प्राधिकरणका अध्यक्ष सिलवालले बीमा कम्पनीहरुले ग्राहकमाझ विश्वास बढाउनुपर्नेमा बताएका थिए । बीमा क्षेत्रमा असीमित जोखिम तर सीमित पैसाले गर्दा बेथिति समेत बढेको पाएपछि प्राधिकरणले कम्पनीहरु गाभ्ने नीति ल्याएको उनको भनाइ छ । ‘मर्जरपछिको कम्पनीमा सिनर्जी ल्याएर उत्कृष्ट सेवा प्रदान गर्नुपर्छ, बीमालेखको लागत घटाउन र भइरहेका बीमालेखमा थप सुविधा के दिन सकिन्छ खोज्न पनि पर्छ ।

समारोहमा युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) का अध्यक्ष रविभक्त श्रेष्ठले गुणस्तरीय सेवा दिन र बीमाको लागत घटाउन कम्पनी मर्जरमा गएको बताए । कम्पनीको पुँजी बढाएर ठूलो बनाउनुपर्ने आवश्यकता महसुस भइरहेकै बेला नियामकले चुक्तापुँजी बढाउनुपर्ने नियम ल्याएपछि दुई कम्पनीबीच मर्जर भएको उनी बताउँछन् । ‘अब कम्पनीले नयाँ नयाँ क्षेत्रमा लगानी गर्दै लगानीकर्तालाई उच्चतम प्रतिफल र सेवाग्राहीलाई गुणस्तरीय सेवा दिनेछ ।

भारत र बंगलादेशसँग तुलना गर्दा जनसंख्याको अनुपातमा नेपालमा बीमा कम्पनी धेरै भएको आफूहरुले पनि अनुभव गरेको उनले बताए । यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सका अध्यक्ष आजाद श्रेष्ठले चार वर्षमा कम्पनीलाई प्रतिस्पर्धी मूल्य, स्तरीय सेवा र नविन प्रडक्टसहितको निर्जीवन बीमा सेवा दिने ५ सर्वश्रेष्ठ कम्पनीको पंक्तिमा उभ्याउने बताए । ‘चार वर्षभित्रै व्यक्ति, व्यवसाय एवं संस्थाहरुलाई वित्तीय सुरक्षा प्रदान गर्दै समाजमा सकारात्मक प्रभाव ल्याउने निकायको सूचीमा कम्पनीलाई समावेश गराउने, प्रविधिको उच्चतम प्रयोग गर्दै बीमा सेवालाई डिजिटल इन्स्योरेन्समा परिणत गर्ने र चीरस्थायी एवं नैतिक तवरले कम्पनी सञ्चालन गरी असल कर्पोरेट नागरिक बनाउने हाम्रो योजना छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *