प्रधानमन्त्री कार्यालयमा सचिव बस्ने कुर्सी नै छैन
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अहिले सचिव थन्क्याउने डम्पिङ साइटमा परिणत भएको छ । सरकारले लिएका नीति निर्णयहरूको कार्वान्वयन पक्षको अनुगमन तथा निर्देशन दिने, सुशासन कायम गराउने र देशभरको विकास निर्माणको अवस्था बुझ्ने थलो मानिने प्रधानमन्त्री कार्यालय अहिले आफैैं भद्रगोल बनेको छ ।
विगतमा प्रधानमन्त्री कार्यालयमा तीन–चारजना सचिव रहन्थे । तर अहिले कार्यालयमा आठजना सचिवको भीड लागेको छ । जसकारण सचिव बस्ने कुर्सी नै छैन । केही सचिवलाई उपसचिवहरुको कोठा खोसेर बस्ने व्यवस्था मिलाइएको छ भने केही त टेवल कुर्सीविहीन छन् ।
प्रधानमन्त्री कार्यालयमा यसअघि चारजना प्रशासन र एकजना कानुन हेर्ने गरी पाँचजना सचिव थिए । अहिले प्रधानमन्त्री कार्यालयमा बैकुण्ठ अर्याल, यादवप्रसाद थपलिया, कानुन हेर्ने गरी उदयराज सापकोटा, गणेशप्रसाद पाण्डेय, खगेन्द्रप्रसाद नेपाल (विशेष दरबन्दी) ,मणिराम गेलाल, एकनरायण अर्याल, टेकनारायण पाण्डे (अतिरिक्त) गरी आठ सचिवलाई राखिएको छ ।
पाण्डे नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाले हिरासतमा छन् । कोइराला अबको एक सातापछि अवकाश हुने क्रममा छन् । अर्यालको सेवा अवधि केही वर्ष बाँकी रहेको छ । प्रधानमन्त्री कार्यालयमा देखिएको भद्रगोलले देश कसरी चलेको होला भन्ने चर्चा सुरु भएको छ ।