एसिया कप पाकिस्तान र श्रीलंकामा हुने , नेपालले भारत र पाकिस्तानसँग खेल्ने निश्चित
काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसिसी) ले पाकिस्तान र श्रीलंकामा एसिया कप प्रतियोगिता गर्ने टुंगो लगाएको छ । प्रतियोगितामा भारतले सबै खेल श्रीलंकामा खेल्नेछ । यदि भारत फाइनलमा पुगेमा त्यो खेल पनि श्रीलंकामा नै हुनेछ ।
पाकिस्तानमा हुने एसिया कपमा भारत सहभागी नहुने भएपछि दुई देशमा हुने टुंगो लागेको हो । आयोजनास्थलबारे एसीसीले यही हप्ताभित्र आधिकारिक घोषणा गर्ने भएको छ । प्रतियोगिताको आयोजना १ देखि १७ सेप्टेम्बरभित्र हुने छ । क्रिकइन्फोका अनुसार पाकिस्तानी क्रिकेट बोर्ड (पिसीबी) ले प्रस्ताव गरेको ‘हाइब्रिड मोडल’ लाई एसीसीले स्वीकृत गर्ने भएको छ । यसअनुसार प्रतियोगिताका १३ मध्ये चार वा पाँँचवटा खेल मात्र पाकिस्तानमा हुनेछन् । बाँकी खेलहरू श्रीलंकामा आयोजना हुने भएको छ ।
पाकिस्तानले सुरुमा युएईलाई दोस्रो आयोजनास्थलका रूपमा अघि सारेकोमा बंगलादेशले त्यहाँको उच्च तापक्रमलाई देखाएर असहमति जनाएको थियो । पाकिस्तान र भारतबीचको राजनीतिक विवादले एसिया कप प्रभावित बनेको थियो ।
नेपालले पनि एसिया कपमा पहिलोपटक भाग लिँदैछ । यो प्रतियोगितामा नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग भिड्ने छ । त्यसैले नेपालीहरूले एसिया कपलाई व्यग्र प्रतीक्षा गरिरहेका छन् ।