नेपाली कांग्रेसका अर्थमन्त्री महतले ल्याएको बजेटमाथि कांग्रेसकै नेताहरू असन्तुष्टि 

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं अर्थमन्त्री डा,प्रकाशशरण महतले ल्याएको बजेटमाथि कांग्रेसकै नेताहरूले असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै कांग्रेस महामन्त्री गगन थापा, सांसद प्रदीप पौडेल र दीपक गिरीले असन्तुष्टि जनाएका हुन् ।

कांग्रेस महामन्त्री थापाले त बजेट अवास्तविक रहेको र यसलाई अर्थमन्त्रीले स्वीकार गर्नसक्नुपर्ने बताए । उनले बजेटबाट ठूला व्यापारीमा चरम निराशा देखिएको र साना व्यापारी समस्यामा परेको बताए । न्यून आर्थिक वृद्धि, बेरोजगारी र मूल्यवृद्धिलाई नियन्त्रण गर्न नसकिएन डरलाग्दो अवस्था सिर्जना हुने उनको भनाइ छ ।

‘अवास्तविक बजेटलाई डिफेन्स गर्दागर्दै छोटो सिरक जस्तो, सिरक माथि तान्यो तल पुग्दैन, तल तान्यो माथि पुग्दैन, त्यसैले यसको वास्तविकतालाई स्विकार्नुपर्छ’, थापाले भने । बजेटको अनुमान गलत छ भनेर अर्थसचिवले नै भनिसकेको अवस्थामा यो अनुमानलाई कसरी परिणाममा ल्याउने भन्ने विषयमा सोच्नुपर्ने उनको भनाइ छ । ठूल्ठूला आयोजनाको कामलाई कसरी अघि बढाउने भन्ने स्पष्ट दृष्टिकोण हुन आवश्यक रहेको उनले बर्ताए ।

कांग्रेस सांसद प्रदीप पौडेलले बजेटबारे सांसदहरुले दिएको सुझावलाई सम्बोधन गर्ने विधिबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममा छुटेका विषय बजेटमा सम्बोधन हुने बताएको उल्लेख गर्दै सो विषय कसरी समावेश गर्नु हुन्छ भनी अर्थमन्त्री महतसँग प्रश्नसमेत गरे ।


‘केही दिन अगाडि नीति तथा कार्यक्रमको बारेमा संसदमा छलफल भइरहँदा सम्माननीय प्रधानमन्त्रीज्यूले नीति तथा कार्यक्रममा सन्दर्भमा उठेका विषयहरुलाई बजेटमा समावेश गरिनेछ भनेर भन्नुभएको थियो । म माननीय अर्थमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु– हामीले छलफलमा उठाएका यी विषयहरुलाई तपाईले बजेटमा कसरी समावेश गर्नु हुन्छ रु यो संसदलाई स्पष्ट गराई दिनु हुन म अनुरोध गर्न चाहन्छु ।’

पौडेलले अर्थतन्त्रमा हाल देखिएका समस्या आजै उत्पन्न नभएको तर्कसमेत गरे । ‘वास्तवमा आज अर्थतन्त्रमा जुन खालको समस्या देखिएको छ । त्यो आज उत्पन्न भएको समस्या होइन । यो लामो व्यथितिले उत्पन्न गरेको परिणाम हो,’ उनले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *