अर्थमन्त्री महत- पुँजीगत खर्च प्रभावकारी बनाउन सरकारले तालिका बनाएको छ

काठामाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट कठिन परिस्थितिमा आएको भन्दै विगतदेखिएको समस्या एकैपटक नसल्टिने बताएका छन् ।

सोमबार बजेटमाथि उठेका प्रश्नको संसदमा जवाफ दिँदै उनले कोभिडको प्रभाव, रुस–युक्रेनको युद्ध र आर्थिक मन्दीसम्मका समस्याका बीच आएको बजेटले समस्या समाधानका उपाय खोजिएको भन्दै एकैपटक सबै समस्या नसल्टिने बताएका हुन् । ‘कठिन परिवेशमा बजेट प्रस्तुत गरेको हो, यो विषय मैले बजेट ल्याउने दिनमै भनेको थिएँ,’ उनले भने ।

बजेटमा विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी ओलीले दुई घन्टा समय टिप्पणीका लागि खर्च गर्नुले बजेटमा नयाँ कुरा पक्कै भएको पुष्टि हुने उनले बताए । ‘यसबाट पुष्टि हुन्छ, बजेटमा केही महत्त्वपूर्ण कुरा छन्, नयाँ कुरा अगाडि बढाउन कोसिस गरेको छ’, उनले भने ।

बजेटले देशभित्र उत्पादन बढाउने, रोजगारी बढाउने, विदेश जाने युवालाई स्वदेशमै रोक्नेतर्फ गम्भीरताका साथ हेरेको उनले बताए । आइटी क्षेत्र, स्टार्टअपका विषय यसतर्फ केन्द्रित रहेको उनको भनाइ छ । बाँझो जमिन उपयोग, सहकारी, कृषि, पर्यटन, साना उद्योगबाट रोजगारी सिर्जना गर्न सकिने गरी कार्यक्रम केन्द्रित गरिएको उनले बताए । बजेटमा आएका नाराहरू कार्यक्रमसँग सम्बन्धित रहेको बताए ।

आगामी आर्थिक वर्षमा पुँजीगत खर्च प्रभावकारी बनाउन सरकारले कार्यतालिका बनाएको उनले बताए । महतले पुँजीगत खर्च बढाउन कार्यतालिकासहित प्रभावकारी कार्यान्वयनको मोडालिटी बनाएको बताए । उनले अर्थमन्त्री भनेको नो म्यान नै हुनुपर्ने बताए । सबै कुरा एसएस भन्दै गए केही पनि बाँकी नरहने उनको भनाइ थियो ।

‘साधन र स्रोत नहेरी उत्साहित भएर जे पनि गर्न थाल्यौं भने हामी थेग्न सक्दैनौं । एसएस भन्ने कुरा अरुलाई सुट गरे पनि अर्थमन्त्रीलाई गर्दैन,’ उनले भने । बजेटको आकार चालू वर्षको भन्दा २.४० प्रतिशतले माइनस रहेकोसमेत महतले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *