मलेसियाबाट आएको नेपाल एयरलाइन्सको विमान गौतमबुद्ध विमानस्थलमा ओर्लियो

काठमाडौँ । नेपाल एयरलाइन्सले मंगलबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरू गरेको छ । निगमको मलेसियाबाट भैरहवा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जहाजलाई पर्यटनमन्त्री सुदन किराँतीले स्वागत गरेका थिए ।

निगमको न्यारोबडी जहाज मंगलबार बिहान साढे ८ बजे विमानस्थलमा अवतरण गरेको थियो । पहिलोपटक अवतरण हुन लागेको यो उडानलाई स्वागत गर्न पर्यटनमन्त्री किराँती विमानस्थल पुगेका थिए । जहाजले मलेसियाबाट भैरहवा आएका यात्रुहरुलाई छाडेर पुनः काठमाडौं फर्किएको थियो ।

नेपाल एयरलाइन्सले काठमाडौं मलेसिया भैरहवा काठमाडौं रूटअन्तर्गत साताको एक दिन मंगलबार उडान गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्र्रिय विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले जानकारी दिए।

विमानस्थल २०७९ जेठ २ गतेबाट व्यावसायिक रूपमा सञ्चालन भएकोमा अहिले कुनै पनि अन्तर्राष्ट्रिय उडान छैन । कुवेतको जजिरा एयरवेजले कुवेत–भैरहवा नियमित उडान गर्दै आइरहे पनि करिब डेढ महिनादेखि उसले पनि उडान रोकेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *