भुटानी शरणार्थी प्रकरणमा भोलि २ बजेसम्म जवाफी बहस सुनेपछि आदेश हुन सक्ने
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका १८ प्रतिवादीको थुनछेक बहस सकिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा बहस सकिएको थियो । शुक्रबार भने सरकारी वकिलले जवाफी बहस गर्ने भएका छन् । जिल्ला न्यायाधीश न्यौपानेले सरकारी वकिललाई २ बजेसम्म जवाफी बहस सकाउन भनेका छन् ।
‘जवाफी बहस २ बजेसम्म सकाउनुहोस्। अनि म आदेश गर्छु,’ उनले भने।
आज चार प्रतिवादीहरू आङटावा शेर्पा, टेकनाथ रिजाल, लक्ष्मी र हरिभक्त महर्जनका वकिलले बहस गरेका थिए।
यस प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परेका छन् भने । थुनछेक बहस सकिएपछि उनीहरूलाई थुनामै राखेर मुद्दा अघि बढाउने कि धरौटी वा साधारण तारेखमा छोड्ने भन्नेबारे इजलासले निर्णय गर्ने छ।
सरकारी वकिल कार्यालय काठमाडौंले यस प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएको थियो । तर १२ जना भने अझै फरार रहेका छन्।
फरार हुनेमा काठमाडौंका ३० वर्षका केशव तुलाधर, इटहरीका अशोक पोखरेल, मोरङका ३९ वर्षीय धिरेन राई र ललितपुर बस्ने दीपा हुमागाईं, इन्द्रजित राईका छोरा निरज राई, ३० वर्षीय राजेश अर्याल, पाँचथरका ६० वर्षीय मोहनराज राई, काठमाडौंका २४ वर्षीय आशिष बुढाथोकी, मोरङकी ४० वर्षीया बिनिता सावदेन लिम्बू, रौतहटका ४२ वर्षीय निरन्जनकुमार खरेल, झापाका ३१ वर्षीय सुनिल बुढाथोकी र पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक छन्।
प्रहरीले पठाएको प्रतिवेदनका आधारमा सरकारी वकिलले जेठ १० गते उनीहरूविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दर्ता गर्ने भएको हो।