खाँणलाई निलम्बन गर्ने वा नगर्ने निर्णय सभापति देउवा फर्केपछि
काठमाडौं । नेपाली कांग्रेसले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई निलम्बन गर्ने वा नगर्ने निर्णय सभापति शेरबहादुर देउवा फर्केपछि मात्रै गर्ने भएको छ ।सभापति देउवा उपचारका लागि सिंगापुर गएका छन् । देउवा असार ७ गते फर्केपछि मात्रै खाँणको विषयमा छलफल हुने प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिएका छन् ।
नक्कली शरणार्थी प्रकरणमा परेका खाँणलाई शुक्रबार काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । शुक्रबार पुर्पक्षका लागि थुनामा राख्न आदेश भएपछि पनि यो प्रकरणमा आफू संलग्न नभएको जिकिर गरिरहेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका नेता टोपबहादुर रायमाझीलाई भने एमालेले सचिव पदबाट निलम्बन गरिसकेको छ । शुक्रबार पुर्पक्षका लागि थुनामा पठाइएपछि रायमाझीको सांसद पद पनि निलम्बनमा परेको छ ।