भुवन केसीको पालामा चलचित्र विकास बोर्ड बन्यो पंगु
काठमाडौं । कुनै समय थियो चलचित्र विकास बोर्डको अध्यक्ष बन्न नाम चलेका चलचित्रकर्मी प्रतिस्पर्धामा हुन्थे । लबिइङमा लाग्थे । नीर शाह, यादव खरेल, शम्भुजित बास्कोटा, मुकुन्द ढुंगाना, कृष्ण मल्ल, युवराज लामा, राजकुमार राई, ईश्वरचन्द्र ज्ञवाली, गणेश भण्डारी, धर्मेन्द्र मोरवैता जस्ता व्यक्तित्व बोर्डको अध्यक्ष बनिसकेका छन् । नेपाली चलचित्रको विकास, बजार विस्तार र विदेशी सिनेमाको व्यवस्थापन गर्न बोर्डको गठन गरिएको थियो ।
तर आफ्नो छुट्टै पहिचान र महत्व बोकेको विकास बोर्डको अहिले साख गिरेको अवस्था छ । बोर्डका अध्यक्ष छन् भुवन केसी । आफ्नो छोरा अनमोलको बाहेक अरुको फिल्म प्रदर्शनमा अवरोध गर्ने, चलचित्रकर्मीबीच फाटो ल्याउने, गर्लफ्रेन्डलाई बोर्डको कार्यकारीको चाबी सुम्पिने, विभिन्न समितिमा आफू निकट कलाकारको भीड जम्मा गर्ने, आफ्ना विरोधीलाई नजिक पर्नै नदिने गरेका कारण भुवन केसीको कार्यकाल बदनाम हुन पुगेको छ । अहिले विकास बोर्डको नाम सुन्नेवित्तिकै धेरैले नाक खुम्च्याउने गरेका छन् ।
नेपाली चलचित्रको बजार विस्तारमा उदासीनता, विदेशी फिल्मको व्यवस्थापनमा राम्रोसँग काम गर्न नसकेकैले विकास बोर्ड विवादमा तानिएको छ । अहिले भुवन केसीको दैनिकी गर्लफ्रेन्ड जिया केसीसँग बोर्डमा राखेर रमाइलो गर्ने, शोभित बस्नेतका ग्याङसँग बसेर ठट्टा गर्ने, साँझ घर फर्कने हुने गरेको छ ।
हिन्दी फिल्म आदिपुरुषका कारण अहिले देशभर तरंग सिर्जना भएको छ । काठमाडौं, धरान र पोखरामा प्रतिबन्ध लागेको छ । काठमाडौंमा आदिपरुष मात्र होइन, अन्य हिन्दी फिल्म पनि रोक लगाइएको छ । तर विकास बोर्ड मौन छ । भुवन केसी बेपत्ता छन् ।
कतिसम्म भने काठमाडौं महानगरका मेयर बालेन्द्र साह बालेनले फेसबुकमा लेखेको स्टाटसकै आधारमा हिन्दी फिल्म चलाउन रोक लगाइन्छ भने किन चलचित्र चलाउनु भन्दै आदिपुरुषको प्रदर्शन देशभर रोकिएको वितरक मनोज राठीले जानकारी दिएका छन् । यस्तो बेला विकास बोर्डले मध्यमार्गी भूमिका खेल्न सक्थ्यो ।
तर भुवन केसी मेयर बालेनसँग कुरा गर्नै डराएका छन् । आदिपुरुषकै कारण अरु हिन्दी फिल्मलाई किन रोक लगाइयो भनेर प्रश्न सोध्ने आँटसमेत गरेका छैनन् । जसकारण भुवन केसीकै कारण बोर्ड पंगु बनेको छ ।