ओलीको रणनीतिक चाल नबुझ्दा वामदेव गौतम फेरि एकपटक बने ‘भकुण्डो’

काठमाडौं । बयोवृद्ध कम्युनिस्ट नेता वामदेव गौतम फेरि एकपटक ‘भकुण्डो’ सावित भएका छन् । एमाले अध्यक्ष केपी ओलीको रणनीति बुझ्न नसक्दा वामदेव अहिले ट्वाँ परेका छन् ।

ओलीले वामदेवलाई समाजवादी मोर्चामा जानबाट रोक्न ७० वर्षे उमेरहदको प्रावधान खारेज गरेका थिए । त्यसपछि वामदेवले आफू एमाले प्रवेश गर्नसक्ने घोषणा मात्र गरेनन्, ओलीलाई नै भेटेर १५ बुँदे ज्ञापनपत्र बुझाएका थिए । जसमा उनले आफू एमालेमा आएमा के के भूमिका दिने हो पहिल्यै तय गर्नुपर्ने उल्लेख थियो ।

कतिसम्म भने वामदेवले ६० लाख भोटसहित एमालेलाई पहिलो पार्टी बनाउन खटिएर लाग्ने प्रस्ताव गरेका थिए । तर ओली अहिले वामदेव गौतमलाई पार्टीमा प्रवेश गराउन अनिच्छुक देखिएका छन् ।

ओली वामदेवको प्रस्तावमा सहमत नभएपछि एमालेमै फर्किएर सक्रिय हुने उनको चाहना तत्कालका लागि पूरा नहुने भएको हो । विगतमा पटकपटक नेताहरुको स्वार्थको भकुण्डो बन्दा राजनीतिको उत्तराद्र्धमा झन्डै पार्टीविहीन अवस्थामा पुगेका वामदेव उत्साहित भएर च्यासलबाट फर्किएका थिए ।

समाजवादी मोर्चामा वामदेवको सहभागिता रोक्न आफूतिर इन्गेज गराइराख्ने ओलीको रणनीतिक चाल नबुझ्दा उनी पुनः एकपटक ‘भकुण्डो’ बनेको चर्चा हुन थालेको छ ।सोमबार घोषणा भएको माओवादी र एकीकृत समाजवादीसहितको चार दलीय समाजवादी मोर्चामा वामदेवलाई पनि सहभागी गराउने प्रयास जारी थियो ।

यहीबीचमा ओलीले वामदेवलाई रोक्न अनेक हथकण्डा अपनाए । ओलीले राम्रो भूमिका दिने ठानेर वामदेवले मोर्चालाई प्राथमिकता दिएनन् । जसकारण फेरि एकपटक वामदेव घरको न घाटका भएका छन् ।

ओलीले समाजवादी मोर्चामा जानबाट रोक्न ‘इन्गेज’ गराएर अन्त्यमा वामदेवको माग अस्वीकार गरेपछि नेकपा राष्ट्रिय एकता अभियानका प्रवक्ता निमकान्त पाण्डेले सोमबार विज्ञप्ति निकालेका छन् ।

उनले भनेका छन्, ‘एकीकृत भएपछि पार्टीका नेता(कार्यकर्ताहरुको व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा कार्यदल निर्माण गर्न प्रस्ताव गर्नुभयो । सो प्रस्तावका सम्बन्धमा एमाले अध्यक्ष केपी ओलीले असहमति जनाउनुभयो । उहाँले प्रस्ताव गर्नुभयो– एमालेमा एकीकृत भएको घोषणा गर्नुभयो भने पार्टीले तपाईसमेत सबै कमरेडहरुको व्यवस्थापनबारे निर्णय गर्नेछ ।

अध्यक्ष केपी ओलीको यस्तो प्रस्तावमा हाम्रो पार्टी अध्यक्ष वामदेव गौतम सहमत हुनसक्नु भएन । तत्पश्चात सम्वादलाई निरन्तरता दिनेगरी उक्त दिनको भेटघाट अन्त्य गरिएको जानकारी गराइन्छ ।’

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *