अर्थमन्त्री महतको अडान बरु सरकार ढले ढल्छ, बजेट संशोधन नहुने
काठमाडौं । एकीकृत समाजवादी, जसपा, जनमोर्चाका सांसदहरूले सार्वजनिक रूपमै बजेट विफल तुल्याउने चेतावनी दिन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड छलफलमा जुटेका छन् । उनले यस विषयमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरूसँग छलफल गरिसकेका छन् ।
समाजवादीका संसदीय दलका उपनेता राजेन्द्र पाण्डेका अनुसार उनले प्रधानमन्त्री र अर्थमन्त्रीसहितको बैठकमै आफ्ना अध्यक्ष नेपाललाई आफूहरूले यथास्थितिमा बजेटको पक्षमा भोट नहाल्ने बताइसकेका छन् । त्यसैले आज एकीकृत समाजवादीको संसदीय दलको बैठक बोलाइएको छ । बैठकमा बजेट पास गर्ने कि नगर्ने भन्नेबारे छलफल हुनेछ । बजेट पास नभएमा अहिलेको प्रचण्ड नेतृत्वको सरकार स्वतः ढल्नेछ ।
तर अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षका निम्ति संघीय संसद्मा प्रस्तुत बजेट संशोधन नहुने अडान व्यक्त गरेका छन् । सत्तापक्षकै सांसदहरूले चर्को असन्तुष्टि जनाउँदै यथास्थितिमा बजेट पारित गराउन खोजे विपक्षमा भोट हाल्ने चेतावनी दिइरहेका बेला उनले बरु सरकार ढले ढल्छ बजेट संशोधन नहुने धारणा व्यक्त गरेका हुन् ।
बिहीबार बिहान बीबीसीसँगको कुराकानीमा उनले बजेट सीमित रहेको, तर आवश्यकता धेरै भएको उल्लेख गर्दै सबैको अपेक्षा पूरा गर्न सम्भव नभएको बर्ताए।‘यद्यपि सांसद्हरूले आफ्नो क्षेत्रमा यति योजना पर्नुपर्थ्यो र सुधार भए हुन्थ्यो भन्नुको अर्थ बजेटकै विपक्षमा हुनुहुन्छ भन्ने निष्कर्ष निकाल्नु उपयुक्त हुँदैन ।
प्रधानमन्त्रीले कहाँ के गर्न सकिन्छ भन्नु स्वाभाविक हो,’ उनले भने, ‘बजेटको आकारभित्र रहेर विधि, ऐन र प्रावधानले दिने सीमाभित्र रहेर पछि पनि हामीले कतिपय निर्णय गर्छौँ, तर बजेट संशोधन प्रस्ताव लग्ने र छलफल गराउने भन्ने हुँदैन। गठबन्धनका दलका मन्त्रीहरूकै प्रस्तावलाई सल्लाहबाट बजेटमा समावेश गरिएको छ, तैपनि त्यस्तो हुने कुरा मैले कल्पना गरेको छैन।’
बजेट संशोधन गर्नु भनेको सरकार र अर्थमन्त्री दुवै असफल हुनु हो । त्यसैले बजेट संशोधन गरेर अर्थमन्त्रीको कुर्सीमा बस्न नसक्ने महतले स्पष्ट पारेका छन् । संघीय संसदमा प्रस्तुत बजेटको कमा र फुलस्टप पनि संशोधन गर्न मिल्दैन । तर अहिले बजेट संशोधन गर्न सकिन्छ भन्ने तर्कप्रति उनले असन्तुष्टि जनाए ।