निजी क्षेत्रको लगानीले ऊर्जा क्षेत्र आकर्षक बनाएको छ ः अध्यक्ष ढकाल


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको लगानीले ऊर्जा क्षेत्र आकर्षक बनाएको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था ९ईप्पान० को २१औँ वार्षिक साधारणसभालाई बिहीबार काठमाडौँमा सम्बोधन गर्दै अध्यक्ष ढकालले ऊर्जा क्षेत्रको विकासका लागि नीतिगत अवरोध तत्काल हटाउनुपर्ने बताए ।

अहिले कुल जडित क्षमताको दुई तिहाइभन्दा बढी उत्पादन निजी क्षेत्रले गरिरहेको र निजी क्षेत्रको उल्लेखनीय प्रवेशले ऊर्जा क्षेत्रलाई आकर्षक बनाएको उनको भनाइ छ । तर, कतिपय अवस्थामा प्रसारण लाइन तथा अन्य समस्याका कारण निजी क्षेत्रद्वारा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकिएको र नीतिगत अवरोधहरुका कारण उत्पादकले उत्पादित विद्युतसमेत बिक्री गर्न नसकेको बताउँदै उनले निजी क्षेत्रको उत्साहलाई कायम राख्न नीतिगत अवरोध तत्काल हटाउनुपर्ने बताए । जलविद्युत् विकासको कुरा दशकौंदेखि गरिआए पनि पछिल्लो दशकमा भएको प्रगति उल्लेखनीय रहेको र राज्यबाट थोरै मात्र सहयोग भए पनि निजी क्षेत्र फस्टाउन सक्छ भन्ने उदाहरण जलविद्युत्, सिमेन्टलगायत क्षेत्रमा देखिएको ढकालको भनाइ छ । अबको केही वर्षमा ऊर्जा उत्पादनले तीव्रता पाउने उनले स्पष्ट पारे ।

‘अहिले नै करिब ७ हजार मेगावाट क्षमताका आयोजना निर्माणको चरणमा छन् । विद्युत् खरिद सम्झौता खुकुलो हुँदा थप लगानीकर्ता आउने सम्भावना बढेको छ । ऊर्जा निर्यात विदेशी मुद्रा आर्जनको माध्यम बन्न सकेको विषय अत्यन्त सुखद् रहेको भन्दै ढकालले भारतले १० वर्षमा १० हजार मेगावाट विजुली लिने प्रतिबद्धता जनाउनु पनि खुसीको कुरा भएको तर्क गरे । हालैको विम्सटेक मिटिङका क्रममा पनि नेपालको विद्युतका बारेमा कुरा उठेको जानकारी गराउँदै उनले नेपाललाई दक्षिण एसियामात्र नभई दक्षिण पूर्वी एसियाको समेत ब्याट्रीको रुपमा विकास गर्ने सम्भावना रहेको धारणा राखे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *