समीकरण फेरिने हल्लापछि गृहमन्त्री श्रेष्ठ कांग्रेसका नेताविरुद्ध कुप्रचारमा

काठमाडौं । समीकरण फेरिने हल्लासँगै उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ कांग्रेस नेतामाथि कुप्रचारमा लागेका छन् । संयुक्त सरकारमा रहेर गृह मन्त्रालयको बागडोर सम्हालेका श्रेष्ठको ध्यान कांग्रेस नेताको सार्वजनिक हुर्मत लिनेमा मात्र केन्द्रित भएको देखिएको छ ।

कांग्रेसकै बुई चढेर गृहमन्त्री बनेका श्रेष्ठले नक्कली शरणार्थी प्रकरणमा कांग्रेसका ठूला नेताको नाम जोडेर बदनाम गराउन खोजिरहेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पक्राउ गर्न भन्दै प्रहरीलाई श्रेष्ठले निर्देशन दिएको भनेर समाचार सार्वजनिक गरिएको छ ।

जबकि सिटौला शरणार्थी प्रकरणमा कहीँ कतै जोडिएकै छैनन् । उनी सरकारी पदमा नबसेको धेरै भइसक्यो । तर पनि कांग्रेस सभापति देउवासँग निकट भएको भन्दै सिटौलाको नाम मुछ्न माओवादीको एउटा लबी लागेको देखिएको छ । त्यो समूहले सिटौलासँगै आरजुलाई फेरि पनि तान्ने प्रयास गरेको छ ।

शरणार्थी प्रकरणमा संलग्न भनिएका बेचन झासँग निकट रहेको भन्दै सिटौलाको नाम बदनाम गर्न खोजिएको छ । सिटौला नेपाली कांग्रेसमा स्वच्छ छविका नेता मानिन्छन् । तर कसैको व्यक्तिगत काम नगरिदिएको भन्दै उनलाई बदनाम गराउन खोज्ने गिरोह नै लागिपरेको छ । आरजुको नाम त सभापति देउवाकै श्रीमती भएकाले जोडिने गरेको हो ।

गृह प्रशासनबाट जति पनि समाचार आउने गरेका छन्, त्यो नारायणकाजीबाटै लिक हुने गरेको पाइएको छ । किनभने श्रेष्ठले आफू निकट पत्रकारलाई फोन गरेरै सूचना दिने गरेको सबैलाई थाहा छ । आफू अनुकूलका समाचार प्रवाह गर्न श्रेष्ठ माहिर मानिन्छन् ।

उनी गृहमन्त्रीको कुर्सीमा रहेसम्म कांग्रेसको जनस्तरमा इज्जत माटोमै पुग्ने भन्दै अहिले समीकरण फेर्ने तयारी भएको हो । सोमबार प्रकाशित एक दैनिकमा गृहमन्त्रीले निर्देशन दिएको भन्दै आरजु देउवा र सिटौलाको चरित्रहत्या गर्ने प्रयास भएको छ । यस्तो प्रचारले माओवादी नेतृत्वको सरकार टिक्छ भन्ने भ्रम गृहमन्त्री श्रेष्ठमा देखिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *